विराटनगर/ मोरङको कटहरी गाउँपालिका–२ कद्माहाका विद्यानन्द दास १४ वर्षको उमेरदेखि मूर्ति बनाउँदै आएका छन् । अहिले उनी ४५ वर्षका भए । युवावस्थामा जस्तै अहिले पनि उनको जाँगर उस्तै छ ।  आफ्नो कला देखाउँदै आएका छन् । माटो, सिमेन्ट, फाइबरलगायतबाट आकर्षक मूर्ति बनाउँदै आएका दासको यो पेशा जिउने आधार पनि हो । 
 
उनले यसै व्यवसायबाट परिवारको गुजारा चलाउँदै आएका छन् । मूर्ति बनाउन थालेको तीन दशकको अवधिमा अनगिन्ती मूर्ति बनाएको कलाकार दास बताउँछन् । ‘मैले मूर्ति बनाउन थालेको ३ दशकभन्दा बढी भयो’ उनले भने, ‘यस अवधिमा थुप्रै मूर्ति बनाएँ । त्यसको लेखाजोखा नै छैन । आफूले कतिवटा मूर्ति बनाएको भन्ने हेक्का नै छैन । दैनिक मूर्ति बनाउने गर्दछु । गनेर कसरी साध्य हुन्छ र ?’ 
 
उनका अनुसार ५ सयदेखि ५५ हजार रुपैयाँसम्मको मूर्ति बनाएर बिक्री गरेको जानकारी दिए । कला देखाएर मूर्ति बनाउन सिपालु दासले बनाएको मूर्ति बढीमा ५५ हजार रुपैयाँसम्म बिक्री गरेको बताए । सस्तोमा बिक्री हुने मूर्तिमा कम मेहनत हुने गरेकाले त्यहीअनुसार बिक्री गर्ने गरेको बताए । अर्डरअनुसार मूर्ति बनाउँदै आएका दासले बढी मेहनत र आकर्षक डिजाइनमा निर्मित मूर्ति महँगो हुने गरेको बताए । 
 
‘महँगो मूर्तिमा धेरै मेहनत गर्नुपर्ने हुन्छ’ कलाकार दासले भने, ‘एउटै मूर्ति बनाउन १० दिनसम्म समय लाग्ने गर्दछ । महँगो मूर्तिमा धैरै समय र मेहनत लाग्ने भएकोले राम्रो पनि हुने गर्दछ । त्यही भएर अलिक महँगो हुने गरेको छ ।’ सस्तोमा बनाउने मूर्ति एकै दिनमा पनि सक्ने गरेको उनले बताए ।
 
अर्डरअनुसार मूर्ति बनाउँदै आएका दासले सिजनमा १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म मूर्तिबाट आम्दानी हुने गरेको जानकारी दिए । ‘सिजनमा जोडतोडले  काममा भिड्ने गरेका छौं’ उनले भने, ‘चार महिना हाम्रो सिजन हो । फागुन, चैत, असोज, कार्तिकमा मूर्ति बनाउन व्यस्त रहन्छौं । यस अवधिमा हामीलाई बोल्नसमेत फुर्सद हुँदैन । बिहान सबेरैदेखि साँझसम्म मूर्ति बनाउन तल्लीन रहने गरेका छौं ।’ चार महिनाको कमाइले परिवार धान्नु परेकोले यसबेला अलिक बढी मेहनत गरेर काममा खटिने गरेको उनले बताए । 
 
विराटनगर–१ को नोबेल डेरीस्थित यही सोमबारदेखि हुनलागेको १ हजार ८ धार्मिक महोत्सवको लागि मूर्ति बनाउन व्यस्त रहेका दासले ब्लाष्टसँग गफिँदै भने, ‘३ सय १५ वटा मूर्ति बनाउनुपर्ने अर्डर आएको छ । मेरो भागमा ४० वटा मूर्ति बनाउनु पर्नेछ । अरु मूर्ति अन्य साथीहरूको भागमा परेको छ ।’ विभिन्न भगवानको मूर्ति बनाउन व्यस्त रहेका दास आइतबार साँझसम्म ४० वटा मूर्ति बनाइसक्ने योजनाका साथ बिहानदेखि साँझसम्म मूर्ति बनाउन तल्लीन रहेका छन् । 
 
दासजस्तै जहदा गाउँपालिका–३ का अजब ऋषिदेवले पनि मूर्ति बनाउन थालेको दुई दशक भएको बताए । धार्मिक महोत्सवको लागि शिव भगवानको मूर्तिलाई अन्तिम रूपमा दिन तल्लीन भएका अजब मूर्ति व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको बताए । आफ्नो बाबुबाजेले गर्दै आएको मूर्ति बनाउने व्यवसायलाई आफूले पनि निरन्तरता दिएको उनले बताए । दास, ऋषिदेवजस्तै मूर्ति बनाउने कलाकार आधा दर्जनभन्दा बढी लागेका छन् ।
 
३ सय १५ वटा विभिन्न भगवानको मूर्ति धार्मिक महोत्सवको लागि बनाउनुपर्ने भएकोले उनीहरू रात–दिन काममा भिडेका हुन् । मूर्तिबाटै चारजनाको परिवार पाल्दै आएका जहदा गाउँपालिका–२ का अर्का मूर्तिकार श्यामराम ऋषिदेवले सिजनमा १ लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको बताए । मूर्ति बनाउने कलाकारहरूका अनुसार अहिलेसम्म माटोबाट बनाएको मूर्तिको अर्डर बढी आउने गरेका छन् । उनीहरूले चाम्रो र चिम्ट्याइलो माटो मूर्तिको लागि प्रयोग गर्दै आएका छन् । 
 
‘कलाकारको सम्मान राज्यले गर्नुपर्ने’ 
मोरङमा मूर्ति बनाउने ठूलो संख्यामा कलाकारहरू रहेको उनीहरूको भनाइ छ । मूर्ति कलाकार सङ्घ नाम दिएर सङ्गठित भएका उनीहरूले मूर्ति बनाउने कलाकारहरूलाई राज्यले सम्मान गर्नुपर्ने बताएका छन् । मूर्ति बनाउँदै आएका कलाकार अजब ऋषिदेवले हामीजस्ता कलाकारलाई राज्यले सम्मान गर्नुपर्ने बताए । ‘राज्यले हाम्रो कलाको सम्मान गरेको छैन’ उनले भने, ‘हामीजस्ता कलाकारहरूले संरक्षण गर्नुपर्ने हो ।’