भीमदत्तनगर/ निधारमा रातो टीका, पिठ्युँमा झोला र मलिन अनुहार लिएर दुई दिनअघि पश्चिमी नाका गड्डाचौकीबाट मजदुरीका लागि भारत जाँदै गरेका ५८ वर्षीय वृद्ध मनोरथ प्याकुरेल चार दशक परिश्रम गर्न घर बाहिर नै रहे ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ का प्याकुरेल विसं २०३६ मा मजदुरीका लागि पहिलो पटक भारत गए । विपन्नताले च्यापेपछि कलिलो उमेरमै भारतका विभिन्न शहरमा मजदुरीमा गएका प्याकुरेल वृद्धावस्थामा पनि मजदुरीकै भरमा परिवारको खर्च चलाइरहेको बताए ।
“युवा अवस्था पनि भारतका विभिन्न शहर (दिल्ली, सिमला, नैनिताल, हिमाञ्चल) मै बित्यो”, २२ वर्षीय भतिज नरेन्द्र प्याकुरेलाई समेत देहरादुन कामका लागि लैजाँदै गरेका उनले भने, “घरपरिवारबाट टाढिएर कडा परिश्रम गर्नु बाध्यता हो ।” पछिल्लो समय देहरादुनमा फेरीको व्यापारमा हात हालेका प्याकुरेलले लामो समय भारतमा सडक निर्माणमा मजदुरी गरेर बिताएका क्षण सुनाए ।
“शुरुमा मजदूरी गर्दा मासिक तलब रु पाँच भारु थियो”, उनले भने, “समयक्रमअनुसार तलब बढी भए पनि महँगीले बचत हुँदैन ।” मजदुरीबाट भएको आम्दानीले घरखर्च हुने गरेको उनको भनाइ थियो ।
सीमामा ओहोदोहारका क्रममा समस्या हुने गरेको बताउँदै प्याकुरेले दुई छोरा बेरोजगार भएर घरमै रहेको जानकारी दिए । “यहाँ रोजगारी पहिले पनि थिएन, अहिले पनि अवस्था उस्तै छ”, उनले भने, “भगवानले शरीरमा ताकत दिएसम्म मुग्लानमै परिश्रम गरेर जिउनुको विकल्प छैन ।”
उनीसित देहरादुन जान लागेका नरेन्द्र प्याकुरेलले परिवारको आर्थिक अवस्था दयनीय भएकाले अध्ययनलाई छाडेर भारत जान लागेको दुःख सुनाए । “स्नातक अध्ययन गर्ने भनेको, घरको अवस्थाले मजदुरीका लागि भौँतारिनुपर्यो”, उनले भने, “परिवारको गरीबीले पढाइलाई निरन्तरता दिन सकिएन ।”
भारतको राजधानी नयाँदिल्लीमा विगत २२ वर्षदेखि चौकीदारीको काम गर्दै आएका बझाङ छान्नाका ५० वर्षीय धनराज पाध्याले पनि रोजगारीका लागि घर बाहिरिनुपरिरहेको दुखेसो पोखे । “दिल्लीको नरेलामा चौकीदारी गर्ने थालेको २२ वर्षभयो ”, गड्डाचौकीमै भेटिएका पाध्याले भने, “चौकीदारीको कमाइले चार छोराछोरीलाई पढाइरहेको छु ।”
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पश्चिमी नाकाबाट दैनिक सुदूरपश्चिमलगायत मुलुकका अन्य प्रदेशका गरी दैनिक एक हजार २०० देखि एक हजार ५०० नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । उता तथ्याङ्क कार्यालय कञ्चनपुरले विसं २०६८ को जनगणनाअनुसार दिएको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशबाट मात्रै दुई लाख ६६ हजारभन्दा बढी नागरिक रोजगारीका लागि भारत गएको देखाएको छ ।
सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य नै भारत हो । तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाबाट ५६ हजार ९३७, कञ्चनपुरबाट ३१ हजार ८३७, अछामबाट २० हजार ३११, दार्चुलाबाट पाँच हजार ५१५, बझाङबाट २१ हजार ८३८, डोटीबाट २२ हजार ७७४, डडेल्धुराबाट १० हजार ४१०, बैतडीबाट १९ हजार ४०४ र बाजुराबाट सात हजार ६७० महिला तथा पुरुष भारत गएका छन् । रोजगारीका लागि भारत गएकाको शैक्षिक अवस्था सामान्य रहेको समेत तथ्याङ्कमा देखिएको छ ।
































