जिरोपोइन्ट /  किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिको १० औँ राष्ट्रिय महाअधिवेशन धरानमा हुने भएको छ । यही फागुन १८ गतेदेखि २० गतेसम्म धरानमा राष्ट्रिय महाअधिवेशन आयोजना हुन लागेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
महाअधिवेशनमा देश विदेशबाट करिब १ हजार प्रतिनिधिहरूको उपस्थिति रहने किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष तिलक राईले बताए । नेपालमा रहेको विभिन्न जातजाति एवं आदिवासी जनजातिहरुबीच सुमधुर सम्बन्ध र सद्भाव कायम गर्दै भातृत्वको विकास गरी एक आपसमा सहकार्य गरेर राष्ट्रिय एकता तथा समृद्धिको लागि किरात राईहरुलाई संगठित गर्ने अधिवेशनको उदेश्य रहेको उनल ेबताए ।
अबिधेशनको तयारी भइरहेको पत्रकार सम्मेलनमा बताइएको छ । किरात राई यायोक्खा केन्द्रीय कार्य समितिको बिधान अनुसार संस्थालाई वैधानिक बनाउन, समितिको उद्देश्य र लक्ष्य प्राप्ति गर्न, संस्थालाई क्रियाशील बनाउन, कार्यसमितिले सञ्चालन गरेको गतिविधिहरूको समीक्षा गर्न राष्ट्रिय अबिधेशन गर्न लागिएको आयेजकले जनाएको छ । अबिधेशनले विधानसमेत संसोधन गर्ने बताइएको छ ।

नयाँ  पदाधिकारीको चयन 
दशौं राष्ट्रिय अधिवेशनबाट किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिको ३ वर्षका लागि नयाँ पदाधिकारीको चयन समेत गरिने भएको छ । जम्मा ३ दिन हुने केन्द्रीय महाअधिवेशनका लागि ३० लाख खर्च लाग्ने अनुमान गरिएको समेत पत्रकार सम्मेलनमा बताइएको छ ।
सहभागिता
दशौं राष्ट्रिय महाधिवेशनमा किरात राई यायोक्खा जिल्ला कार्यसमितिहरू, समितिमा आवद्ध थरगत भाषिक संस्थाहरु, भातृसंस्थाहरु, विदेश शाखा संगठनहरुबाट कम्तीमा पनि ५ जना प्रतिनिधिहरुले सहभागिता जनाउनेछन् । पाचौ महाधिवेशन सम्पन्न गर्नका लागि १५ वटा उपसमितिहरु समेत तयार गरीएको छ । महाधिवेशनको सम्पूर्ण व्यवस्थापनको पक्ष किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले हेर्ने भएको छ ।
३२ थरी, २६ भाषी किरात राईहरूको छाता संस्था
किरात राई यायोक्खा विश्वभरी छरिएर बसेका किरात राईहरूको साझा एवं सर्वोच्च संस्था हो । यो संस्था स्थापना भएदेखि किरात राईहरूको भाषा, संस्कार, संस्कृति, इतिहास र सनातनदेखि चलिआएको धर्म संरक्षण सम्बर्धन एवं विकासका कार्यहरु गर्दै आइरहेको छ । हाल किरात राई यायोक्खा ३२ थरी, २६ भाषी किरात राईहरूको छाता संस्था रहेको पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अधिवेशन सुरु हुनुभन्दा अघि १५ गते धरानमा मोटरसाइकल ¥यालीसमेत निकालिने छ । अधिवेसनको खुल्ला शत्र र उद्घाटन समारोह धरानको भानुचोकमा हुने र बन्दशत्र धरानको सभागृह हलमा हुने बताइएको छ ।
अधिवेशनको मुल नारा तय
दशौँ राष्ट्रिय अधिवेशनको मुल नारा “इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशबासीको आवाहन” भन्ने राखिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय समितिका अध्यक्ष राईले प्रदेश नम्बर १ को नामकरण किरात प्रदेश हुनुपर्छ भन्ने आफुहरूको पहिलो माग रहेको बताएका छन् । उनले छैठौं अधिवेशनबाट नै किरात प्रदेशको माग राखिँदै आएकोले उक्त माग दशौं अधिवेसन सम्म आइपुग्दा सम्म पनि अडिग रहेको बताए ।
पहिचान विहिन प्रदेश भए आन्दोलन
किरात प्रदेश मात्र नभएर पहिचानको आधारमा भएपनि आफुहरूलाई मान्य हुने बताएका छन् । पहिचान बाहेक अन्य नामहरू राखेको खण्डमा नामकरण भएकै समयदेखि आफुहरूले कालो झण्डा देखाएर विरोध जनाउने बताएका छन् । पहिचान बाहेकका नामरण भएमा जस्तोसुकै आन्दोलन सुरु गर्न समेत पछि नहट्ने बताएका छन् ।
तस्विरः उपेन्द्र चाम्लिङ