धरान / अलिक फरक शहर मानिन्छ । यहाँका वासिन्दा पनि अलिक फरक छन् । धरानको चर्चा देश विदेशमा अलिक बढि हुने गरेको कारण पनि यही फरकपनले हो । यहाँका स्थानीयले चर्चा लगर्न लायक काम पनि गर्दै आएका छन् । गोरु काट्ेर खाएको मात्र यहाँको चर्चा होइन, सामाजिक सञ्जालमा कुरा उठाएर आपतमा परेकाहरुलाई सहयोग गर्ने, उद्धार गर्नेदेखि लिएर यहाँका हरेक विकास निर्माणमा स्थानीयको जनसहभागिताले चर्चा पाउने गरेको छ । यो धरानको लागि सकरात्मक पाटो मात्र होइन अन्य शहरका लागि पाठ पनि हो ।
जनसहभागितामा यहाँका अधिकाशं भित्री सडक पिच भएका छन् । उपमहानगरको ५० प्रतिशत र जनताको ५० प्रतिशत लगानीमा भित्री सडक पिच भएका छन् । जनसहभागितामै धरानको मुटु भानुचोकमा हङकङको घण्टाघरको मोडेलमा घण्टाघर ठडिएको छ । जो धरानको एउटा पर्यटकीय गन्तव्य समेत बनेको छ । समाजिक सञ्जालबाट सहयोग आवहान गरेर ७÷७ लाख लागतमा दुई जना मजदुरको घर निर्माण भएको छ । दुव्र्यसनीहरुलाई राख्न धरान–७ पानवारीमा सुविधा सम्पन्न आसारा केन्द्र निर्माण भएको छ । करिव ४ करोड लागेमा बनेको उक्त भवन समुदायकै सहयोगमा निर्माण भएको हो । इलाका प्रहरी कार्यालय धरान परिसरमा देशकै नमुना हिरासत निर्माणको क्रममा छ । प्रहरीको एकेडेमीमा कार्यरत डिएसपी रामेश्वर पौडेलको अवधारणमा अपराधको प्रकृति अनुसार छुट्टाछुट्टै बन्दीहरुलाई राख्न नमुना हिरासत भवन २ करोड ७८ लाख लागतमा निर्माणको क्रममा छ ।
आज हिरासत भवनको पहिलो तला ढलान गरिएको छ । २ करोड ७८ लाखको कुल लागतमा निर्माण भईरहेको इप्रका धरानको भवनमा सोमबार भवनको पहिलो तल्लाको छत ढलान गरिएको हो । यो भवन बनेसँगै इप्रका धरानलाई थुनुवा राख्न सहज हुने छ ।
गत साउन १४ गते शिलान्यास भएको भवनको पहिलो तल्लाको ढलान गरिएको भवन निर्माण समिति संयोजक मीनकुमार सुब्बाले जानकारी दिएका छन् ।
धराने दाताहरूको सहयोगमा सुविधा सम्पन्न दुईतले भवन २ वर्षभित्र पूरा गरिसक्नुपर्ने लिखित सम्झौता भएको संयोजक मीनकुमार सुब्बाले बताए ।
भवनमा महिला, पुरुष र तेस्रोलिङगीको छुट्टाछुट्टै हिरासत कक्ष हुने बताइएको छ । हिरासत भवन निर्माणका लागि धराने जनसहभागिता रहेका छ । यो अवधारणा डिएसपी रामेश्वर पौडेलले ल्याएका थिए ।
अन्तर्राष्ट्रिय स्तरमा कुनैपनि व्यक्तिलाई हिरासतमा राख्दा मानव अधिकारको प्रत्याभूति, व्यक्तिगत सुरक्षाको प्रत्याभूति, मानवोचित जीवन यापन, खाना, बसोबास र उपचारको व्यवस्था रहने भएपनि नेपालमा हालसम्म यस प्रकारको हिरासत भवन बन्न सकेको छैन । यो नेपालकै पहिलो र नमुना हुने छ ।
































