इटहरी/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले आइतबार धरानको होटलहरूको अनुगमन गरेको छ । होटल अनुगमनका क्रममा सफासुग्घर राखिएका होटललाई हरियो स्टिकर प्रदान गरिएको डिभिजन कार्यालयबाट खटिएका अधिकारीले जनाएका छन् ।
अधिकारीका अनुसार धरानको गोरखा किचनले हरियो स्टिकर प्राप्त गरेको छ । सफासुग्घरको आधारमा गोरखा किचनले हरियो स्टिकर पाएको हो । टोलीमा धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत दिवस अधिकारीका अनुसार आइतबार १० वटा होटलका किचनको अनुगमन गरिएको थियो । ‘अनुगमन गरिएको होटलमध्ये गोरखा किचन निकै सफा पाइयो’ अधिकारीले ब्लाष्टसँग भने ‘बगरकोटको भाइब्स रेष्टुरेन्टको किचन तुरुन्तै सुधार गर्नुपर्ने पाइयो ।’
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख विक्रम लिम्बू, उपभोक्ता हित संरक्षण मञ्चका कृष्ण ताम्राकार, इलाका प्रहरी कार्यालयका असइ रुद्र तामाङलगायतको सहभागिता रहेको पनि अधिकारीले जानकारी दिए ।
अनुगमनमा होटलको किचनलाई अति उत्तम, उत्तम, सन्तोष जनक र सुधार गर्नुपर्ने गरी चार तहमा सचेत गराइएको थियो । होटल र बजारमा सोमबार पनि अनुगमन हुने र त्यसपछि सुधार गर्नुपर्ने होटलको बारेमा थप जानकारी दिने बजार अनुगमन अधिकृत अधिकारीले जानकारी दिए ।
































