पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समिति सदस्य दुर्गा सिटौला न्यायिक समितिबाट बर्खास्त भएका छन् । किर्ते गरेर जग्गा किनेको आरोप लागेका सिटौला दोषी ठहरीए पछि न्यायिक समितिबाट बर्खास्त भएका हुन् ।
सिटौलाले दिएको राजिनामा नगरको कार्यपालिकाको माघ १५ गते बसेको बैठकले स्वीकृत गर्दै हटाएका छन् । स्थानीय तहको निर्वाचनमा सिटौला एमालेबाट वडा नम्बर १ मा वडा सदस्य पदमा निर्वाचित भएका थिए ।
त्यसैगरी सोही किर्ते गरेर जग्गा किनेको आरोप लागेका वडा नं. ३ का वडासचिव कमल भट्टराईलाई पनि माघ १५ गते नगरको कार्यपालिकाको बैठकले कारबाही गरेको छ । बैठकले कारवाही स्वरुप सचिव भट्टराईलाई वडा नं. ३ मा काम नगर्ने गरी वडा नम्बर १ को कार्यालयमा काम गर्न खटाईएको प्रमुख प्रशासकिय अधिकृत सुर्य प्रसाद गौतमले बताए ।
यस अघि सचिव भट्टराईले वडा नं. १ र ३ मा सचिवको भूमिका निर्वाह गर्दै आएका थिए । वडासचिव भट्टराई वडा नं. ३ का स्थानीय बासिन्दा हुन् ।
न्यायिक समितिका सदस्य सिटौला र सचिव भट्टराईले मिलेमतोमा वडा नम्बर २, मा रहेको द्रुपदा गजुरेलको कित्ता नम्बर ५१० र १४१ को साढे १० कट्ठा जग्गा किर्ते गरी दुवैजनाले खरिद गरेका थिए । वडा नं. २ को जग्गा वडा नं. ३ को बनाएर खरिद गरेका थिए ।
न्यायीक समितिका सदस्य सिटौलाले आफ्ना श्रीमती कमला देवि सटिौला र वडा सचिव भट्टराईले आफ्ना श्रीमती गंगा देवि भट्टराई नाममा जग्गा पास गराएको थियो । त्यसैगरी चन्द्रमाया विश्वकर्माको नाममा पनि जग्गा पास गरी तीन जनाले किनेका थिए ।
वडा नं. २ को जग्गा ३ को भन्दै सबै कागज पत्र पुर्याएई आएकोले आफुले सिफारीस गरेको तर पछि बुज्दा आफुलाई फसाईएको वडा ३ का वडाध्यक्ष डम्बर बहादुर चेम्जोङले बताउँदै आएको छ ।
































