विराटनगर/ श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले बिरामी र कुरुवाहरूलाई निःशुल्क साकाहारी भोजन गराएका छन् । प्रणामी युवा परिषद्ले शनिबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका करिब पाँच सय बिरामी र कुरुवाहरूलाई निःशुल्क भोजन गराएका हुन् ।
हस्पिटलमा भर्ना भएका बिरामी र कुरुवालाई निःशुल्क भोजन गराएको कृष्ण प्रणामी युवा परिषद् विराटनगरका सहसचिव सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार यस पटक निःशुल्क भोजन गराएको सातौं पटक हो ।
सामाजिक कार्य अनुरुप युवा परिषद्ले विभिन्न सङ्घ–संस्था र व्यक्तिको सहयोगमा भोजन गराउँदै आएको अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । ‘अहिलेसम्म हामीले विभिन्न स्थानमा पुगेर भोजन गराउँदै आएको छौं,’ अध्यक्ष कोइरालाले भने, ‘पूण्य कमाउन हामीले यसरी बिरामी र कुरुवा तथा असहायहरूलाई भोजन गराउँदै आएका छौं ।’ पूण्य काममा कसैले सहयोग गर्ने चाहे सहयोग गर्न संस्थाले सार्वजनिक अपिल समेत गरेको छ ।
































