सिरहा/ सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा १ करोड भन्दा बढीको लागतमा दुर्गा मन्दिरको पुनःनिर्माण हुँदै । कल्याणपुर नगरपालिका-११ बजारमा अवस्थित दुर्गा मन्दिरको पुरानो भवनलाई भत्काएर नयाँ पुनःनिर्माण गर्न लागिएको हो ।
सिरहाकै एकमात्र बढी दर्शनार्थी ओर्लिने कल्याणपुरस्थित रहेको दुर्गा मन्दिरको पुरानो भवन जीर्ण भएपछि नयाँ भवन बनाउन लागिएको छ । करिब ६ दशक अघि निर्माण गरिएको दुर्गा मन्दिरको पुरानो भवनलाई भत्काएर प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १ करोड बढीको लागतमा मन्दिरको नयाँ भवन निर्माण हुन लागेको हो ।
मन्दिर निर्माणका लागि मन्त्रालयबाट १ करोड ५ लाख रुपैयाँ छुट्याइएको छ भने नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको छ ।
सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादव र प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले निर्माण हुन लागेको मन्दिरको उक्त नयाँ भवनको संयुक्त रुपमा आज (बुधवार) एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
सांसद यादव र राज्यमन्त्री मण्डलद्धारा शिलान्यास गरिएको मन्दिरको नयाँ भवन एकवर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको राजपाका स्थानीय नेता किशोरी यादवले जानकारी दिए । ‘चलु कल्याणपुर, देखु कल्याणपुर’ को लक्ष्यसहित भारी लागतमा निर्माण हुन लागेको दुर्गा भवानीको उक्त मन्दिर नमुना, मनमोहक र आकर्षक बनाइनेछ ।
शिल्यान्यास समारोहलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथिका रुपमा समेत रहेका सांसद राजकिशोर यादवले आधुनिकतासँगै युवा पुस्तामा लोप हुँदै गएको पौराणिक तथा धार्मिक मान्यता र संस्कृतिलाई जोगाउन आग्रह गरे । उनले संस्कार बिना सुन्दर समाज निर्माणको परिकल्पणा असम्भव भएको बताए ।
सोही क्रममा उनले आफू सदैव जनतामा नै समर्पित रहेको भन्दै खुलेर आफ्ना कुरा साझा गर्न सबैलाई अनुरोध गरे । उनले निर्धक्क साथ खुलेर अघि बढे मात्र विभेद विरुद्धको लडाईमा विजयी प्राप्त हुने जिकिर गरे । उनले मिर्चैया-सिरहा जोड्ने सडकको पुनःनिर्माणको काम चाँडै थालिने समेत खुलाए ।
त्यसैगरी, प्रदेश राज्यमन्त्री सुरेश मण्डलले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारलाई काम गर्न सबै निकायबाट असहयोग भएको दुखेसो पोखेका छन् ।
उनले संघीय सरकार, प्रहरी प्रशासन, कर्मचारी सबै तिरबाट मात्र असहयोग नै भएको सुनाए । तैपनि काम गर्न खोजे संघीय सरकारले प्रदेश २ सरकारलाई असफल बनाउन विभिन्न हथकण्डा अपनाउँदै आएको आरोप लगाए । उनले केन्द्र तथा अन्य प्रदेशमा काम गर्न नसकेका कर्मचारीलाई मात्र केन्द्र सरकारले प्रदेश २ मा पठाउने गरेको भन्दै काम गर्न असहज भएको थपे ।
कल्याणपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राजेश्वर यादवको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथिका रुपमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद एवं पूर्व सूचना तथा संचारमन्त्री राजकिशोर यादव सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सहभागी थिए ।
त्यसैगरी, अतिथिको रुपमा कल्याणपुर नगरपालिकाका नगरप्रमुख सूर्यनाथ मण्डल, सप्तरीका प्रदेश सांसद बिक्की यादव, बिष्णुपुर गाउँपालिकाका प्रमुख जागेश्वर यादव, कल्याणपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मोतिबुल राईन, राजपाका स्थानीय नेता किशोरी यादव, संघिय समाजवादी फोरम नेपालका स्थानीय नेता प्रदिप कुमार साह, नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायत विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय, नागरिकसमाज लगायतको उल्लेख्य सहभागिता थियो ।
































