विराटनगर/ १ नम्बर प्रदेश सरकारले स्वास्थ्य प्रवद्र्धन अभियान सञ्चालनका लागि सामाजिक अभियान्ता धुर्मुस सुन्तलीलाई सद्भावना दुतमा नियुक्त गरेको छ ।
प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार विशेष कार्यक्रम आयोजना गरेर सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) सँगै औपचारिक सम्झौता गरेको हो ।
प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहाल र अभियान्ताहरु धुर्मुस सुन्तलीले सम्झौतापत्रमा हस्ताक्षर गरे । रोगलागेपछि उपचारकालागि मानिसहरु जति संवेदनशिल बन्ने गर्दछन् त्यति नै संवेदनशिलता रोग लाग्नु भन्दा अघि बन्नु पर्छ भन्ने सन्देशसहित प्रदेशमा स्वास्थ्य प्रवद्र्धन सचेतना अभियान सञ्चालन गरेको हो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले अब रोग लाग्नै नदिने सचेतनामा सबै लाग्नु पर्ने बताए । ‘रोग लागेपछि उपचार गर्ने चिकित्सक उत्पादनमा करोडौं लगानी भइरहेको छ,’ उनले भने, ‘रोग लाग्न नदिने उपायको खोजी र प्रचारमा खास ध्यान पुगेको छैन । सामाजिक विकास मन्त्रालयले स्वस्थ जीवनकालागि खानपान, सरसफाई र योग तथा व्यायामलाई प्राथमिकतामा राखेर सचेतना अभियान अघि बढाएको छ ।’ त्यसकालागि सरकारले ‘एक घर पाँच योग, पाँच जडिबुटि’, पाँच सकारात्मक व्यवहार परिवर्तन जस्ता कार्यक्रमहरु अघि बढाएको उनको भनाई छ ।
मेरो फोहोर म आफैं सफा गर्छु, समुदायको सफाई मेरो दायित्व जस्ता नाराहरु अघि सार्दै सुरु गरेको अभियानमा धुर्मुस सुन्तलीले आगामी फागुन १ गतेदेखि विक्रम सम्वत २०७६ साल माघ ३० गतेसम्म दुतको रुपमा काम गर्नेछन् ।
सद्भावना दुतको रुपमा नियुक्त भएका दुवै जनाले सबै उमेर, वर्ग र समुदायका जनतालाई स्वास्थ रहन अपनाउनु पर्ने उपायहरुबो बारेमा सञ्चारका वैज्ञानिक विधि मार्फत अभियान चलाउने सम्झौता पत्रमा उल्लेख छ । त्यस बाहेक प्रदेशका विभिन्न स्थानमा चेतनामुलक कार्यक्रम प्रस्तुत गरिने छ भने प्रमुख स्थानहरुमा स्वास्थ्य प्रवद्र्धनकालागि होर्डिङ वोर्ड तथा डिस्प्ले वोर्डहरु राखिने बताइएको छ । स्वास्थ्य सचेतनासम्वन्धि पोस्टर र पम्प्लेटहरु वितरण गर्ने तथा सञ्चार माध्यमबाट सूचना प्रवाह गर्ने तथा सामाजिक मिडियाहरुमा क्याम्पेन सञ्चालन गर्ने आदि सरकारको योजना छ ।
सरकारले सद्भावना दुतहरुलाई आफ्ना कार्यक्रमहरुमा सहभागि गराउने छ भने कार्यक्रमलाई प्रभावकारी र परिणाममुखि बनाउन दुतहरुले सहयोग गर्नेछन् । प्रत्येक जिल्लामा कम्तिमा एउटा हुने गरी एक वर्षमा १६ ओटा कार्यक्रम गर्ने सहमति छ । दुतहरु कार्यक्रममा सहभागिताका क्रममा यातायात, आवास तथा खाना आदिको खर्च प्रदेश सरकारले उपलव्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
त्यस क्रममा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले अभियानले सकारात्मक परिणाम हासिल गर्ने विश्वास व्यक्त गरे । उनले सकारात्मक सोचको विकास गर्ने र स्वस्थय जीवनशैली बाँच्ने तरिकाको बारेमा जानकारी दिन अभियान महत्वपूर्ण हुने पनि बताए ।
सद्भावना दुत नियुक्त भएपछि बोल्दै अभियन्ता सिताराम कट्टेलले सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्ने प्रतिवद्धता जनाए । ‘दुत भइयो जिम्मेवारी पाइयो भन्ने मात्र होइन एउटा कर्तव्यनिष्ठ नागरिकको दायित्व पनि पुरा गर्ने छौं,’ उनले भने, ‘ अभियानमा निरन्तर हामी लागिरहने छौं ।’ नेपाल सरकारले धुर्मुस सुन्तलीलाई सन् २०१५ मा सरसफाई दुतको रुपमा जिम्मेवारी दिएको थियो । खुला दिशा मुक्त अभियानमा उनीरुले आफ्नो भूमिका सफलतापूर्वक पुरा गरेका थिए ।