दमक/ झापाको दमकमा फुड फेस्टिबल हुने भएको छ । स्थानीय तथा जातीय परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि १२ गतेसम्म फुड फेस्टिबल हुने भएको हो । यस क्षेत्रको आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नु तथा आन्तरिक बजार सबलीकरणका लागि फेस्टिबलको महत्वपूर्ण भूमिका रहने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

व्यापार व्यवसाय पर्यटन र संस्कृतिको उत्थान र प्रवद्र्धन गर्न फेस्टिबलको आयोजना गरिएको आयोजक होटल व्यवसायी सङ्घ दमकका अध्यक्ष राजन दङ्गालले जानकारी दिए ।

हरेक वर्ष निःशुल्क प्रवेशसहित सडकको किनारमा हुने फुड फेस्टिबल यो पटक भने शुल्कसहित रतुवा खोलाको किनार हुने जनाइएको छ । फेस्टिबलबाट ८ लाख रुपैयाँ बचत गर्ने योजना बनाइएको र सो बचत रकम होटल व्यवसायी राहत कोषमा जम्मा गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

फेस्टिबलको आकर्षक हेलिकप्टर
यस वर्षको पाँचौ दमक फुड फेस्टिबल तथा सांस्कृतिक पर्यटन महोत्सवको मुख्य आकर्षक हेलिकप्टर उडान रहेको आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । महोत्सव संयोजक सुधिर प्रधानका अनुसार बिर्तामोड र इटहरीमा आएका बेला दमकमा पनि हेलिकप्टर ल्याउने भएको हो ।

हेलिकप्टरमार्फत् दमकसहित आसपासका ठाउँको अवलोकन गरी मनोरञ्जन लिन सकिने जनाइएको छ । महोत्सवमा विभिन्न राष्ट्रियस्तरका कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने जनाइएको छ । तृष्णा गुरुङ, रजिना रिमाल, सृजे थपलिया, सपना सुमन र नितेशजङ कुँवरले फरक–फरक दिन साङ्गीतिक प्रस्तुति दिनेछन् ।

स्थानीय कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुतिले माहोललाई तताउने आयोजकको दावी छ । महोत्सवमा २ सय स्टल राखिने र अधिकांश स्टलहरूमा खानाका परिकारहरू राखिने संयोजक प्रधानले बताए । साथै जातीय, कृषि उपज, घरेलु उत्पादन, हस्तकलासहित अन्य विभिन्न व्यवसायका स्टलहरू रहने छन् ।

अनुमानित ५३ लाख रुपैयाँ खर्च रहने महोत्सवमा ६१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न प्रायोजक सहप्रायोजकबाट ४ लाख, टिकट बिक्रीबाट ३७ लाख ५० हजार, प्रवद्र्धक नेपाल पर्यटन बोर्डबाट, १ लाख ५० हजार, स्टलभाडाबाट १० लाख र बाल उद्यानबाट ८ लाख गरी कुल ६१ लाख आम्दानी गर्ने लक्ष्य महोत्सवले राखेको छ ।

साथै महोत्सवमा आउने पाहुनालाई खानामा १० र बस्नमा २० प्रतिशतको छुटको समेत व्यवस्था गरिएको जनाइएको छ ।