ताप्लेजुङ/ भौगालिक हिसाबले दुर्गम रहेको ताप्लेजुङमा सडक सञ्जाल विस्तारको कार्य तिव्र वनेको छ । ९ स्थानीय तहका ६१ वडामध्ये अव २ वटा वडामा मात्रै सडक पुग्न बाँकी छ । जिल्लाको सिरिजंगा गाउँपालिका वडा नं ६ मामांखे र मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ वाहेक अन्य वडाहरुलाई सडक सञ्जालले छोएको छ ।
एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङले ३ हजार ६ सय ४६ वर्गकिलोमिटरमा ओगटेको छ । सिरिजंघाको मामांखे यसै आर्थिक वर्षमा सडकले जोडिने वताईएको छ । सो स्थानमा सम्म सडक विस्तार गर्नका लागि अहिले ४६ लाख रुपैयाँमा ठेक्का लागेको छ । यसै आर्थिक वर्षमा वडाभरि सढक पुर्याउने उद्देश्य अनुरूप काम भइरहेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।
पापुङमा चाहिं कहिले पुग्छ भन्ने अझै सम्म पनि यकिन भएको छैन् । चीन र संखुवासभा जिल्लासँग सिमाना जोडिएको सो वडामा विषेश गरि शेर्पा र लिम्बू जातिको वसोवास रहेको छ । मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवा हुँदै पापुङ सम्म सडक जाने वडाध्यक्ष डण्डु शेर्पाले बताए ।
अहिले साँवाको थलङसम्म ट्रयाक पुगेको छ । वडा नं ३ लिवाङ हुँदै गाउँपालिकाको केन्द्र जोड्न बजेट विनियोजन गरिएको बताईएको छ । यस्तै मेवा डेभलर्पर हाइड्रो प्रालिले साँवाको थुङलुङबाट फुङफुङे झरनातर्फ सडक विस्तार गरिरहेको छ ।
चीनसँगै सिमाना जोडिएको फम्तालुङ गाउँपालिका ७ ओलाङचुङगोलामा पनि सडक खनिएको छ । गाउँमा गाडी पनि पुगेको छ तर सदरमुकाम फुङलिङसँग सिधा जोडिन भने बाँकी छ । चीनको तिब्बतबाट सडक निर्माण गरेर बस्तीसम्म ल्याइएको हो ।
यहाँ जन्मेर देशविदेशमा रहेका आफैंले रकम संकलन गरेर २४ किलोमिटर सडक निर्माण गरेका छन् । सदरमुकामबाट विस्तार भइरहेको सडक भने लेलेपको गाउँ माथि पुगेको छ । काठमाडाैँको एलाइट जेभी निर्माण कम्पनीले विस्तारको काम गरिरहेको छ ।
यता भारतसँग सिमाना जोडिएको सिरिजंगा गाउँपालिका ८ याम्फुदिन पनि सडकले छोएको छ । वडाको केन्द्रमा जोडिन अब तीन किलोमिटरको हाराहारीमा बाँकी रहेको छ । अहिले जिल्ला सदरमुकामबाट पाथीभरा याङवरक, सिनाम, सिरिजंगाको आम्बेगुदिन हुँदै हप्पुखोलासम्म ठूलासाना गाडी चल्ने गरेको छ ।
खेबाङसम्म भने ट्रयाक्टर पुग्ने गरेको छ । भौगोलिक हिसाबले जिल्लाको आधा बढी भूभाग ओगटेको फक्तालुङ गाउँपालिकाले तमोर नदीको तीन स्थानमा काठेपुल बनाएर वडा नं ७ ओलाङचुङगोला बाहेक प्रत्येक वडामा गाडी पुर्याएको छ ।
अर्को विकट मानिएको मिक्खाखोला गाउँपालिकामा सानिमा हाइड्रोपावर कम्पनीले फुङलिङ र मिक्वाखोला १ खोक्लिङ जोड्न तमोर खोलामा हेमपाइप राखेर गाडी आवतजावत गर्ने बनाएको छ । भारतसँग सिमाना जोडिएको पूर्वको सिदिङवा गाउँपालिका १ कालिखोला र सादेवामा पाँचथरको याङवरक गाउँपालिका हुँदै हिउँदमा यातायात चल्ने गरेको छ ।
पूर्वका कालिखोला, सादेवा, सुरुमखिम, याम्फुदिन भारतसँग जोडिएका र उत्तरको ओलाङचुङगोला र पापुङ चीनसँग जोडिएका छन् ।
































