मधुमल्ला/ पुर्वकै पुरानो मानिने चितपरिचित मधुमल्ला बजार आजभोली अस्त व्यस्त बन्दै गएकोे छ । साँघुरो सडकमा जथाभावी रुपमा पार्किङ गरिँदा मोरङ मिक्लाजुङको मधुमल्ला बजार अव्यवस्थित बनिरहेको हो ।
बढ्दो शहरीकरण , जनसंख्या बृद्धिका बीच बजारमै हुने जथाभावी पार्किङ र सडकमा नै राखिएका निर्माण सामग्रीले सवारी दुर्घटनाको जोखिम समेत बढेको छ । बजारका साँघुरा सडकमा जथाभावी पार्किङ गरेपछि अन्य सवारी आवतजावतमा समेत समस्या थपिएको छ ।
तर, नियामक निकायहरु मौन छ । पैदल हिँड्ने यात्रुहरुले हिँड्ने ठाउँ पाउनै मुस्किल पर्ने गरेको छ । स्थानीय तह निर्वाचनको बेलामा मधुमल्ला बजार लाई नमुना बनाई व्यवस्थापन गर्छौ भनेर प्राय सबै दलले आफ्ना घोषणा पत्रमा प्रतिबद्धता जनाएका थिए ।
तर, स्थानीय तहको निर्वाचन भएको २ वर्ष बित्न लाग्दासम्म बजार व्यवस्थापनका लागि कुनै पहल गरेको पाइदैन । बजार क्षेत्रमा पार्किङ गर्ने स्थानको अभाव, ट्राफिक व्यवस्थापन हुन नसक्दा यो समस्या आएको हो ।
मुख्य बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारी साधन पार्किङ गर्ने सडक अतिक्रमण गरी खुल्ला पसल थाप्ने , गृह निर्माण सामाग्री जथाभाबी सडकमा राख्ने प्रचलनका कारण सुन्दर बजार क्षेत्र नै कुरुप देखिन थालेको छ ।
मिक्लाजुङ गाउँपालिका र मिक्लाजुङ ब्यापार संघको बेवास्ताले गर्दा बाटो हिंड्न समस्या परेको स्थानीय गोपाल साहाले बताए । बेवास्ता गर्दा सडक पेटीमा जथाभावि सवारी साधन पार्किङ र व्यापार व्यवसाय सन्चालन गर्नेको संख्या दिनानु दिन बढ्दै गएको छ ।
व्यवस्थित बजार बनाउने अभियान कागजमा मात्र सीमित हुने भएकाले आशा गर्ने ठाउँ नरहेको अर्का स्थानीय होमेन्द्र दाहाल बताउँछन् । यता मिक्लाजुङ गाउँपालीकाले भने बजार व्यवस्थापनको लागी चालु आ.वको लागी १८ लाख रुपयाँ बजेट छुट्याएको गाउँपालीका प्रमुख प्रशाशकीय अधिकृत प्रमोद कुमार चौधरीले बताए ।
यस समस्याको मुल जड भनेको बजारको उचित व्यवस्थापन नहुनु, बाटो साँघुरो हुनु
अव्यवस्थित पार्कीङ, र सडक पेटीमा खाट राखी व्यवसाय सञ्चालन गर्नु हो । बजार व्यवस्थापन पछि यो समस्या क्रमस हल हुँदै जाने छ चौधरील भने ।
बजार व्यवस्थापनको लागी मिक्लाजुङ गाउँपालिका र मिक्लाजुङ व्यापार संघको संयुक्त साझेदारीमा लगत स्टमेट तयार गर्ने साथै उक्त एरीया भित्र हाल बसोबास गर्ने र व्यावसाय गर्ने व्यापारीलाई सो स्थान खाली गर्न गाउँपालिकाले १५ दिने सुचना समेत जारी गरीसकेको मिक्लाजुङ गाउँपालिका ईन्जिनियर शुवास आचार्यले बताए ।
सुचना अवज्ञा गरि बस्नेतहरुको स्थान खली गराइने गाउँपालिका स्रोतले बतायो । मिक्लाजुङ गाउँपालिकामा साना ठुला गरी ५ वटा बजार रहेका छन् ।
































