सोलुखुम्बु  / सडकमा हिउँ जमेपछि सोलुखुम्बु-काठमाडाैँ सडक अवरुद्ध भएको छ ।  बुधबार भएको हिमपातका कारण सोलुखुम्बु-काठमाडाैँ सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो ।

हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ । सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा राजधानी काठमाडाैँ, प्रदेशको अस्थायी राजधानी विराटनगर लगायत क्षेत्रसँग सोलुखुम्बुको सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सञ्जीव चौधरीले जानकारी दिए ।

उनकाअनुसार हिउँ जमेको अवस्थामा सवारी सञ्चालन गर्दा हुनसक्ने दुर्घटनालाई दृष्टिगत गरी जिल्ला भित्रने सवारी साधन ओखालढुङ्गाको ढाडेमा र जिल्लाबाट बाहिर जाने सवारी साधनलाई जिल्लाको बाघखोरमा रोकिएका छन् ।

पत्ताले क्षेत्रमा हिजोदेखि चार ओटा मालवाहक टूक फसेको प्रहरी चौकी पत्तालेका हबल्दार विजय सिवाले जानकारी दिए । उनका अनुसार उक्त मालवाहक ट्रक मोडमा फसेको र जेसिवीले समेत तान्न नसकेका कारण उद्धार गर्न सकिएको छैन ।

मौसममा सुधार आए पनि छायाँ परेको सडक भागमा घाम लाग्न नसक्दा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सडक यातायात सञ्चालन हुननसक्ने भएपछि यात्रु अलपत्र परेका छन् ।

बुधबार साँझ सदरमुकाम सल्लेरी आएका केही यात्रु जीपमार्फत बाखखोरमा पुगेर बसेका छन् भने केही यात्रु सदरमुकाम सल्लेरीमै बसेका छन् ।

आकस्मिक काम परेका यात्रुलाई भने यातायात सञ्चालन नहुँदा समस्या भएको छ । वैदेशिक रोजगारीका लागि शुक्रबार बिहान काठमाडौँ पुग्नुपर्ने स्थानीयवासी रामबहादुर तामाङको भनाइ छ ।

सदा झैँ आज साँझ काठमाडाैँ पुग्ने र शुक्रबार काम भ्याउने सोचमा रहेका तामाङ सल्लेरीमै रहनुपर्दा निक्कै चिन्तित बनेका छन् । तामाङले भने, “प्लेन चल्छ, चल्दैन थाहा छैन, गाडी त चल्दैन भन्छन्, भोलिको मेरो काम छुट्ने भयो, निक्कै तनावमा छु म ।” अहिले झन्डै एक सय यात्रु पत्ताले क्षेत्रमा रोकिएको टूाफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार मौसममा सुधार आएपछि आज साँझसम्ममा सवारी आवगमन खुलाउने प्रयास भइरहेको छ ।