पथरी/नेपाल आदिबासी जनजाति महासंघका प्रतिनिधिहरुले पथरीशनिश्चरे नगरपालिका-१० मोरङमा आदिवासी जनजाति संग्राहलय बाहेक अन्य संरचना बन्नै नदिने चेतावनी दिएका छन् ।
बिहिबार समितिको संयोजक राईसँग नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिका प्रतिनिधिले भेटेर संग्राहलय बाहेक अन्य संरचना बन्न नदिने चेतावनी दिएका हुन् ।
महासंघका अध्यक्ष चन्द्र तामाङ, सचिव देवेन्द्र वनेम लिम्बू, पूर्व अध्यक्ष हेमभक्त गुरुङ, स्थानीय समाजसेवी प्रदिप राई, भीम श्रेष्ठ, किरात राई यायोक्खा केन्द्रीय सदस्य अर्जुन जम्नेली राई लगायतले संयोजक राईसँग भेटेवार्ता गरेका थिए ।
प्रदेश नम्बर १ सरकारले सो क्षेत्रमा विभिन्न जातजातिको कला, संस्कार, संस्कृति संरक्षण गर्ने उदेश्यले संस्कृतिक ग्राम तीन धाम बनाउने भन्दै ५० लाख रकम विनियोजना गरेको छ ।
प्रदेश सरकारले उक्त कार्यको लागि प्राम्भिक काम गर्न संविधान सभाका सदस्य चण्डीप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय समिति गठन समेत गरेको थियो ।
निर्वाचनको बेला मोरङ ३ नम्बर क्षेत्रका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उमेद्वार भानुभक्त ढकालले आफूले जितेमा सो क्षेत्रमा आदिवासी जनजाति संग्राहलय बनाउने प्रतिबद्धता गरेका थिए ।
प्रदेश सरकारले रकम छुटाएपछि पहिला भुटानी शरणार्थी बसेको खाली स्थानमा नक्कली पाथिभरा, वराहक्षेत्र र हलेसीसहितको तीन धाम बनाउने प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले पथरी आएको बला बताएका थिए ।
मन्त्री घिमिरेले तीन धाम बनाउने भनेपछि स्थानीय आदिवासी जनजाति आक्रोश व्यक्त गर्दै उक्त स्थलमा आदिवासी संग्राहलय नबने अन्य संरचना बन्नै नदिने चेतावनी दिएका हुन् ।
भेटमा संयोजक राईलाई स्थानीय समाजसेवी प्रदिप राईले यो जमनामा झुटको खेती गर्न नहुने बताए । हेमभक्त गुरुङले चुनावमा गरेको प्रतिबद्धता पुरा गर्नै पर्ने बाध्यता नभएपछि जनतालाई ढाँट्ने र एउटा बिषयको लागि आएको बजेट अर्कोमा लगाउन नहुने बताए ।
उक्त क्षेत्रमा जवरजस्ति नक्कली धाम बनाउन खोजिए आदिवासी जनजाति भौतिक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शरणार्थी बसेको खाली क्षेत्रमा तीन धाम बनाउन कसैले माग नगरेको तर आफैले जनजाति संग्राहलय बनाउछु भनेर प्रतिबद्धता गरेर रकम छुटिएपछि धाम बनाउने कुरा आफूहरुलाई स्वीकार्य नहुने स्थानीय आदिवासी जनजाति समुदायको तर्क छ ।
ठूलो खर्च गरेर नक्कली तीन धाम भन्दा उत्पीडित आदिवासी जनजातिको लोप हुन लागेको संस्कृतिको संरक्षण आवश्यकता र प्राथमिकतामा पर्नुपर्ने बताउदै आएका छन् ।
पाथिभरा, हलेसी, वराहक्षेत्र सक्कली धाम नजिकै रहेकोले त्यही महत्व भएको बताउदै आएका छन् । भेटमा संयोजक चण्डीप्रसाद राईले माघ १२ गते पथरीशनिश्चरे नगरपालिका, १६ गते मोरङ जिल्ला र १९ गते प्रदेश स्तरीय रुपमा इटहरीमा सुझाव संकलन कार्यक्रम रहेको बताए ।
भेटलाई आफूले महत्वपूर्ण रुपमा लिएको भन्दै संयोजक राईले सुझाब संकलन कार्यक्रममा सहभागी बन्न आग्रह गरेका थिए ।
































