पाँचथर/ मेची पहाडमा उत्पादित विद्युतलाई केन्द्रीय प्रशासरण लाइनमा जोड्ने १३२ केभिए काबेली करिडोर विद्युत प्रशारण लाइनको काम सुरु भएको एक दशक पुग्यो । तर प्रशारण लाइनको काम अझै सम्पन्न भएको छैन ।

करिडोरको काम आर्थिक वर्ष २०६६/६७ देखि सुरु भएको थियो । जस्वार एण्ड एस्टर नामक भारतीय कम्पनिले आर्थिक वर्ष २०७१/७२ भित्र सम्पन्न हुने गरी करिडोरको कामको ठेक्का लिएको थियो । उक्त कम्पनिसँग एक अर्ब ३० करोडमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।

विभिन्न कारण देखाउदै आयोजनाको म्याद पटक-पटक थपिंदै आएको छ । चौंथो पटक थपिएको म्याद सकिन लाग्दा समेत करिडोरको काम सम्पन्न हुन सकेको छैन । चौथों पटक थप भएको म्याद यहीं २६ माघमा सकिंदैछ । उक्त समयावधिभित्रमा काम सम्पन्न हुने कुनै सम्भावना छैन ।

करिडोरको दुरी झापाको लखनुपरदेखि पाँचथरको अमरपुरसम्म ९० किलोमिटर छ । करिडोरका चार वटा सवस्टेशन राखिएका छन् । झापाको लखनपुर, इलामको गोदक, पाँचथरको फिदिम-४, थापाटार र याङवरक गाउँपालिकाको अमरपुरमा करिडोरको सवस्टेशन रहेका छन् ।

इलामको गोदकदेखि लखनुपरसम्मको काम सम्पन्न भए पछि त्यसयताको काम भने समयमै सम्पन्न हुन नसकेको हो ।

आयोजनाका अनुसार गोदक-थापाटार खण्डमा टावर गाड्ने काम सकिएको छ । यो खण्डमा १२७ वटा टावरमध्ये दुई वटा टावर ढलेकाले पुनः निर्माण गरिंदैछ । तार टाँग्ने काम दश प्रतिशत बाँकी छ ।

थापाटार-अमरपुर खण्डमा भने ४० वटा टावर गाड्ने काम सकिए पनि साँढे १३ किलोमिटरमध्ये नौ किलोमिटर तार टाँग्ने काम बाँकि छ । सम्झौता अनुसार तीन बर्ष अघि नै सम्पन्न हुनुपर्ने करिडोरको काम अझै लम्बिने निश्चितप्राय भएको छ ।

आयोजना प्रमुख दीपेन्द्रराज द्विबेदीका अनुसार सामुदायिक वन क्षेत्रमा समस्या झेल्नुपरेकाले र कार्यक्षेत्रमा हुने अवरोधले आयोजनाको काम समयमै सम्पन्न गर्न नसकिएको हो । करिडोरको पाँचथरको फिदिम नगरपालिकाको जोरसाल क्षेत्रमा अवरोध छ ।  सो क्षेत्रमा बालिनालिको क्षतिपूर्तिको विषयमा निर्णय हुन बाँकी हुँदा स्थानीयले अवरोध गरिरहेको आयोजना प्रमुख द्विवेदीले बताए ।

त्यस्तै सोही क्षेत्रको देउराली सामुदायिक वन क्षेत्रमा उपभोक्ता समितिले राखेका माँगका बिषयमा कुरा नमिल्दा काम गर्न नसकिएको बताइएको छ । डिविजन वन कार्यालय पाँचथरबाट गत २७ पुषमा सामुदायिक वन क्षेत्रका रुख कटान गर्ने अनुमति पाए पनि उपभोक्ता समितिको विभिन्न माँगले गर्दा रुख काट्न समस्या भएको आयोजनाले जनाएको छ ।

तर सरोकारवालाले भने निर्माण कम्पनीले आयोजनास्थलमा आवश्यक समन्वय नगर्दा ढिलो भएको आरोप लगाएका छन् ।

गत फागुनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिडोरको कामको अवलोकन गरेका थिए । सो क्रममा घिसिङले फिदिममा पत्रकारहरुसँग कुराकानी गर्दै करिडोरको काम दोस्रोपटक थपिएको समयमै सम्पन्न गर्न निर्देशन दिएको बताएका थिए ।

तर कार्यकारी निर्देशक घिसिङको निर्देशन अनुसार निर्माण कम्पनिले करिडोरको काम सम्पन्न गरेन । बीचमा आएका अनेकौं समस्याका कारण निर्देशन अनुसार काम सम्पन्न नभएको आयोजनाका जनसम्पर्क अधिकृत दीपक रार्ईले बताए ।

१३२ केभिए काबेली करिडोर विद्युत प्रशारण लाइन मार्फत पाँचथर-ताप्लेजुङबाट ११३ मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिदैछ । पाँचथर-ताप्लेजुङ सीमाना भएर बग्ने काबेली खोलामा निर्माणधिन ३७ मेगावाटको काबेली ए र २५ मेगावाटको काबेली बी वानबाट उत्पादित विद्युत काबेली करिडोरले केन्द्रीय प्रशारण लाइनमा जोड्नेछ ।

त्यस्तै पाँचथरको हेंवाखोलामा निर्माणधिन २२ मेगावाटको तल्लो हेंवा र ताप्लेजुङको सिरिजंगा गाउँपालिका-४, मा निर्माणधिन दश मेगावाटको इङ्वाखोला जलविद्युत आयोजना र ताप्लेजुङको थेचम्बुमा निर्माण सम्पन्न भएको पाँच मेगावाटको फावाखोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली पनि काबेली करिडोर मार्फत नै केन्द्रीय प्रशारण लाइनमा जोडिनेछन् ।

यसअघि नै निर्माण सम्पन्न भएको पाँचथरस्थित १४ मेगावाटको हेंवा ए जलविद्युत आयोजनाबाट उत्पादित नौ मेगावाट विद्युत भने बैकल्पिक बाटोबाट केन्द्रीय प्रशारण लाइनमा यसअघि नै जोडिएको छ ।