ताप्लेजुङ/ताप्लेजुङमा पनि बिहानैबाट चिसो ह्वात्तै बढेको छ । दिउँसोबाट पानी परिरहेको छ भने, उत्तरी भेगमा हिमपात भएको छ । पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
बिहानदेखि परेको हिउँ अहिले करिब ४ फिट जमिसकेको पाथीभराबाट पुजारी डिल्ली आचार्यले बताए । हिउँ परेपछि तिर्थयात्रि भने आइरहेको आचार्यको भनाई छ । यस्तो समयमा पाथीभरा जानेले गम्बुटको प्रयोग गर्दा उपयुक्त हुने उनले बताए ।
अहिले फेदी र काफ्लेपाटीसम्मै हिउँ परेको फेदीका इन्द्रदारायण भट्टराईले जानकारी दिए । चिसोबाट बच्न तातो र झोलिलो खानेकुरा, गेडागुडीको रस तथा न्यानो गरी बस्न चिकित्सकले सुझाएका छन् ।
दिउँसो अत्याधिक चिसोका कारण कतिपय विद्यालयले विद्यार्थीहरुलाई आगो तपाएका छन् । पाथीभरा याङ्वरक गाउँपािलकाको चाक्सिबोटे माध्यामिक विद्यालय र मिक्वाखोलाको पञ्चेश्वरी मावीका विद्यार्थीलाई विद्यालयमै आगो फुकेर तपाइएको हो ।
ताप्लेजुङको दिउँसोका अधिकतम तापक्रम १२ दशमलव २ डिग्री सेल्सीयस रहेको पूर्वी क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । यता मंगलवार दिउँसोको अधिकतम तापक्रम भने १७ दशमलव ५ डिग्रीसेल्सीयस रहेको थियो ।
































