यासोक(पाँचथर)/ पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकामा कृषि पेशा नै सङकटमा परेको छ । लामोसमयसम्म वर्षात हुन छोडेपछि कृषि पेशा संकटमा परेको हो  । आयआर्जनको मुख्य श्रोत कृषि पेशा भएकाले यो पेशा नैसंकटमा पर्दा किसानहरु चिन्तित भएका छन् ।

कतिपय अवस्थामा परम्परागत कृषि पेशा अंगाल्दा किसानको मेहेनत खेर गइरहेको छ । लामोसमय सुख्खा खडेरीका कारण बालिनाली सुक्ने समस्या बढ्न थालेपछि कृषिमा ठुलो संकट देखा परेको छ । समय समयमा वर्षाद नहुदा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु सुक्ने, किराको संक्रमण लगायतका समस्याबाट स्थानीय मारमा परेका हुन् ।

कुम्मायक गाउँपालिकामा किसानले मकै, कोदो, बदुम, कागती, अदुवा र सुन्तलाको व्यवसाहीक रुपमै खेती गर्दै आएका छन् । तर प्रयाप्त वर्षाद नहुदा, बारीमै मोकै मर्ने, बदुमका बोट सुक्ने किरा लाग्ने जस्ता समस्या देखा परेको कुम्मायक ५ भौरवबहादुर बुढाथोकीले बताए । ‘समय राम्रो चल्दा बदुम बेचेर वार्षिक ५० देखि १ लाखासम्म कमाई हुथ्यो तर अहिले त पानी पर्नै छोडेको छ ।

पानी नपर्दा बोट मर्ने र कमिला लाग्ने समस्याले बिउ जोगाउनै मुस्कील परेको बुढाथोकीले बताए । पशुचौपाय पाल्न पनि हरियो घासपात नै उम्रन छोड्यो । कहिलै नसुकेको बाँस पनि सुकेर जान थाल्यो । मकै र जुजेलो पनि बारीमै मर्न थालेको छ बुढाथेकीले गुनासो गरे ।

तमोर नजिकको बेसी क्षेत्रमा अन्नपात उत्पादन हुन छाडेको छ भने । माथील्लो बस्तीमा किसानले व्यवसाहीक रुपमै उत्पादन गर्दै आएको कागती, सुन्तला र अम्लीसो खेतीमा पनि ठुलो असर पुगेको छ । फल फल्ने र फुल फुल्ने बेलामा वर्षाद नहुदा वर्षेनी उत्पादन घटेर गएको छ ।

गाउँपालिकामा सुन्तला, कागती र अम्लीसो जस्ता नगदेवाली उत्पादन हुदै आएको छ । तर यो वर्ष अम्लिसो नफुल्दा समस्या भएको कुम्मायक–५ का लीलाराज थापाले सुनाए । गत वर्ष उनले अम्लिसोबाट वार्षिक ५० हजार देखि ७५ हजारसम्म आम्दानी गरेका थिए । ‘ तर यो वर्ष अम्लिसो फुल्ने बेलामा पनि फुलेको छैन ।

लामोसमयको खडेरीले कतिपय अम्लिसो सुकेको छ । सुकेको अम्लिसो गाइवस्तुलाई काटेर खुवाउने गरेको उनि सुनाउँछन । उनको बगानमा कागती र अम्लिसो खेती छ । कागतिबाट यो वर्ष आम्दानी गर्न नसकेका थापा अम्लिसोबाट राम्रो मुल्य साट्ला भने सोचमा थिए । तर सोचे जस्तो नभएपछि उनि निराश भएका छन् ।

किसानले अम्लिसो, कागती बेचेर लाखौं रुपयाँ आम्दानी गर्दै आएका छन । तर वर्षेनी वर्षात् कम हुदा कागती र सुन्तलाका बोट मर्न थालेपछि उनिहरु चिन्तित भएका हुन । गाउँपालिकाको–४ र ५  वडामा कागति र सुन्तलाको उत्पादन हुदै आएको छ ।

सुन्तलाको पटेकक्षेत्रको रुपमा चिनिने कुम्मायक–४ रानिगाउँमा सुन्तला उत्पादान घटेको अगुवा  कृषक सम्माननीय बमबहादुर सम्बाहाम्फेले बताए । गतवर्ष २ लाख ५० हजार आम्दानी गरेका उनले यो वर्ष १ लाख रुपयाँ आम्दानी गर्न पनि मुस्कील परेको सुनाए ।

बारी भरी २ सय ४० बोट सुन्तला लगाएर व्यवसाहीक रुपमै खेती गर्दै आएका सम्बाहाम्फे बारीमै बोट सुक्न थालेपछि चिन्तित भएका छन् । पहिले सयम राम्रो थियो फल ठुला र रसिला हुन्थे । तर अहिले बारीमै बोट सुकेर बगान नै मासिएको छ, चिन्तित हुदै उनले भने ।

कुम्मायक गाउँपालिकाको जस्तै समस्या अर्को सुख्खाक्षेत्र तुम्बेवा गाउँपालिकामा पनि छ । किसानले उत्पादन गरेको मकै, कोदो, तोरी, जुजेलो बारीमै सुकेर उत्पादन घटेपछि खाध्य संकट देखा परेको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।

गाउँपालिकाको कृषि जन्य वस्तुको निर्यात भन्दा पनि आयत बढेको छ । गाउँपालिकाको कुल ग्रास्त उत्पादनले धान्न छोडेपछि कुल उत्पादनको ७५ प्रतिशत खाद्य वस्तुको आयत गर्नुपरेको छ । यसले कृषिक्षेत्रलाई ठुलो असर पारेको थापा बताउछन् ।

तमोर नदिले छोएको तेह्रथुम, धनकुटाका अधिकाशं सुख्खाक्षेत्रमा वर्षेनी किसानले उत्पादन गरेको कृषि जन्य वस्तुको उत्पादन घट्दै गएको छ ।