काठमाडौं/ लोकप्रिय गायक तथा वरिष्ठ रेडियोकर्मी स्वर्गीय वासुदेव मुनालको नामबाट स्थापना भएको “वासुदेव कोइराला मुनाल मेमोरियल फाउन्डेसन” ले गरिब तथा असहायका लागि विभिन्न राहत सामग्री वितरण गरेको छ ।

गायक मुनालको स्मृतिमा गठन भएको यो फाउन्डेसनले उदयपुरको चौदन्डिगढी नगरपालिका-१ स्थित शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा एक कार्यक्रम गर्दै सो क्षेत्रका विद्यार्थी, गरिब तथा असहायका साथैज्येष्ठ नागरिक गरेर करिब एक सय व्यक्तिलाई ब्ल्याङ्केट, ज्याकेट तथा खाद्य सामग्री वितरण गरेको हो ।

फाउन्डेसनका अध्यक्ष तथा मध्यपश्चिमाञ्जल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नम्बर(१ का सभासद् बिमल कार्की, चौदन्डिगढी वडा-१ का अध्यक्ष रोहित तामाङ, शारदा माविका प्रधानाध्यापक तारा नाथ कटवाल लगायतको उपस्थिति थियो ।

स्व.वासुदेव मुनालको जन्मस्थान साथै उनले अध्यायन गरेको विद्यालय भएकोले फाउन्डेसनले शारदा माविबाट कार्यक्रम सुरुवात गरेको अध्यक्ष कोइरालाले बताए ।

नेपाली कला संस्कृतिको उत्थानका लागि जीवनभर लागि परेका स्व. मुनालको नामबाट गठित फाउन्डेसनले आगामी दिनमा पनि अन्य थुप्रै सामाजिक काम गर्ने कार्यक्रममा जानकारी गराइयो ।