धरान / छैठौं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालय स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता बुधबारदेखि प्रारम्भ भएको छ ।

धरान–१५ स्थित एकेडेमीकै भलिबल कोर्टमा शुरु भएको प्रतियोगितामा छात्रतर्फ समिट, युजिए ए र भिक्टोरी स्कुल विजयी बनेका छन् । त्यस्तै छात्रातर्फ युजिए बी, हाम्रो बोर्डिङ र युजिए ए विजयी बनेका छन् । उद्घाटन खेलमा छात्रतर्फ समिटले कार्मेल स्कुललाई सोझो ३–० को सेटमा हराएको छ । त्यस्तै युजिए ए ले युजिए बीलाई ३–० को सोझो सेटमा हरायो । तेस्रो खेलमा युएन स्कुल सहभागी नभएपछि भिक्टोरी स्कुलले वाकओभर पाउँदै विजयी बनेको हो ।

छात्रामा युजिए बीले युनिक एकेडेमीलाई ३–० को सोझो सेटमा हरायो भने हाम्रो बोर्डिङले भिक्टोरीलाई पनि ३–० को सोझो सेटमै हराउन सफल बन्यो । तेस्रो खेलमा युजिए ए ले सेक्रेट हार्ट स्कुललाई २–१ को सेटमा हराएको स्कुलका प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सुनसरी भरीका ३० वटा टिम सहभागी छन् ।

छात्रातर्फ १४ टिम छन् भने छात्रमा १६ टिम सहभागी छन् । छात्रछात्रा विजेताले नगद १५, १२ र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको उद्घाटनको पूर्वसन्ध्यामा गरिएको रक्तदानमा ६५ युनिट रगत सङ्कलन भएको थियो । प्रतियोगिताको उद्घाटन धरान–१५ का कार्यबाहक अध्यक्ष तथा सदस्य ज्ञानेन्द्र बस्नेतले गरे । कार्यक्रममा एकेडेमीका संस्थापक सदस्य श्यामकुमार राई, भिक्टोरी स्कुलका प्रिन्सिपल नरेन्द्र लिम्बू, हाम्रो बोर्डिङका तेजबहादुर निरौलालगायतको उपस्थिति रहेको थियो ।