धरान । २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस धरानमा पनि मनाइएको छ । ‘विपत्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेबार सङ्घ, प्रदेश र स्थानीय सरकार’ भन्ने नाराका साथ धरानमा प्रभातफेरिलगायतका कार्यक्रम गरिएको छ ।

दिवसका अवसरमा विद्यालयका विद्यार्थी, स्काउटमा आबद्ध बालबालिका, निर्माण व्यवसायी, नेपाल रेडक्रस सोसाइटी सुनसरी, धरान उपमहानगरपालिकाको संयुक्त ¥याली उपमहानगरपालिकाको प्राङ्गणबाट शुरु भई भानुचौक पुगी पुनः धरान उपमहानगरपालिकामा आएर टुंगिएको थियो । २१ औं भूकम्प सुरक्षा दिवस जिल्ला समारोह समिति, सुनसरी र धरान उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको मुख्य लक्ष्य भूकम्पबाट बच्न पूर्व सावधान, भौतिक तथा मानवीय क्षति न्यूनीकरण विषयमा सचेतना फैल्याउनु रहेको थियो ।

यस्ता दिवसले क्षति न्यूनीकरणमा सहयोग पुग्ने २१ औं भूकम्प सुरक्षा दिवस जिल्ला समारोह समिति, सुनसरीका संयोजक एवम् सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले बताए । सामान्यतः बालबालिकालाई ¥याली तथा विभिन्न सभाहरूमा प्रयोग गर्न नहुने कानूनमा उल्लेख भए पनि ¥यालीमा धरानका अधिकांश विद्यालयका विद्यार्थीहरू नै सहभागी थिए । विद्यालयस्तरबाटै भूकम्प सचेतनाको विषयमा जानकारी पाउन सक्ने भएकाले पनि स्काउटमा आवद्ध बालबालिकालाई सामेल गराइएको प्रजिअ उप्रेतीले बताए । उनले यो समितिले भूकम्पबाट बच्नका लागि सचेतना कार्यक्रम गर्दै विपत् परेको समयमा उद्धारको कामलाई समेत निरन्तरता दिइरहेको बताए ।

१९९० माघ २ गते नेपालमा गएको महाविनाशकारी भूकम्पले ठूलो धनजनको क्षति पुगेको र अब उप्रान्त यस्तो घटनामा धेरै धनजनको क्षति नपुगोस् भन्ने उद्देश्यले २०५५ सालदेखि राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । सो बेला ८.५ रेक्टर स्केलको भूकम्प गएको ८ हजार ५ सय ज्यान गुमाएका थिए । यसलाई मध्यनजर गरी यो भूकम्प सुरक्षा मनाउन शुरु गरिएको धरान उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरेले बताए ।

प्रत्येक वर्ष हुने यस्ता दिवसमा नेपाल रेडक्रस सोसाइटीले पनि सहभागी जनाउने गर्छ । मानवीय सेवाका रूपमा खोलिएको रेडक्रसले मानवीय विपद्धमा उद्धारमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । यस्ता सचेतना कार्यक्रमले भूकम्पबाट बच्न सहयोग पुग्ने नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले बताए । हुन त, नेपालमा १९९० पछि २०४५, २०७२ सालमा विनाशकारी भूकम्प आएको थियो । त्यसबेला समेत नेपालले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको थियो ।

नेपाल भूकम्पीय जोखिम क्षेत्र भए पनि जोखिम न्यूनीकरणका लागि खासै कार्यक्रम नआएको भए पनि वर्षमा ¥याली र सभाको आयोजना भने हुने गरेका छन् । भूकम्पको जोखिम न्यूनीकरणका लागि स्थानीय तहले भवन आचारसंहिता निर्माण गरेको छ यसले क्षति न्यूनीकरणमा केही सहयोग पुगे पनि सचेतना कार्यक्रममा भने सरकारले त्यति ध्यान नदिएको देखिएको छ । सम्बन्धित पक्षले दिवसका साथै वर्षैभरि विभिन्न तह र तप्काका सर्वसाधारणलाई सचेतना फैल्याउने, जोखिम न्यूनीकरणका विषयमा तालिम दिने हो भने अवस्य नै महाभूकम्पबाट कम क्षति हुन्छ । दिवसका साथै यसतर्फ पनि सरकारले ध्यान पु¥याउन आवश्यक छ ।