तेह्रथुम/ आर्थिक विपन्न तथा असहाय परिवारलाई छथर गाउँपालिका–४ फाक्चामारा निवासी हाल हङकङमा कार्यरत शिव इमेहाङले सिरक वितरण गरेका छन् ।

गाउँपालिकाको साबिक फाक्चामारा गाविसको वडा नम्बर १, २, ३, ४ र ५ को हाक्पारा, डाँडागाउँ, उन्जुङ, छघरे, वालङबा, साउने, भुजेलगाउँ, खङदाङ, सल्लेरी, कुचुङ, बतासे, आहाले, सिङ्जेक्वालगायतका विपन्न ५० परिवारलाई उनले सहयोग गरेका हुन् ।

जाडोसँगै चिसोमा रात कटाउँदै आएका विपन्न परिवारका सदस्यलाई इमेहाङका बुबा मिन्द्रबहादुर इमेहाङले सिरक वितरण गरेका थिए । १ लाख २५ हजार बराबरको सिरक प्रतिपरिवार एक थानका दरले वितरण गरीएको स्थानीय मनु लिम्बूले बताइन् ।

तमोर तटीय क्षेत्रको रूपमा रहेको यो गाउँमा खडेरीका कारण पीडित बनेका ५० परिवारलाई १ लाख ५० हजार बराबरको खाद्यान्न केही महिना अघिमात्रै इमेहाङले प्रदान गरेका थिए ।

उनले स्वर्गीय आमा भीममाया तिगेलाको नाममा सिद्धगणेश मावि छथर–४ फक्चामारा बतासेमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको स्थानीय सिद्धिमान इमेहाङले बताए । त्यस्तै स्थानीय जलकन्या आधारभूत विद्यालयमा ३० हजार बराबरको प्रिन्टरलगायतका सामग्रीसमेत सहयोग गरेका छन् ।