तेह्रथुम/ म्याङलुङमा रहेको सानिमा बैङ्कले तेह्रथुम आधारभूत विद्यालय म्याङलुङ–३ नगदहका विद्यार्थीलाई विद्यालय जुत्ता प्रदान गरेको छ ।

बैङ्कले विपन्न विद्यार्थीलाई विद्यालय जुत्तासँगै स्टेशनरीका सामग्री प्रदान गरेको छ । बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई ती सामान प्रदान गरेको जनाएको छ । विद्यालयमा रहेका ३५ जना विद्यार्थीलाई जुत्ता, जुरफ र स्टेशनरी सामान प्रदान गरेको शाखा प्रबन्धक गोविन्द श्रेष्ठले बताए ।

यसैगरी बैङ्कले विद्यार्थीहरूलाई बैङ्किङ शिक्षा सम्बन्धी जानकारी पनि गराएको छ । बैङ्कले विद्यार्थीलाई बचत गर्ने तरिका, बचत गर्दाका फाइदा, बैङ्कमा नै किन बचत गर्ने, बैङ्क भनेको के हो, लगायतका विषयमा जानकारी गराएको प्रबन्धक श्रेष्ठले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेश ढुङ्गानाले विपन्न विद्यार्थीलाई बैङ्कले उपलब्ध गराएको सामानले केही राहत पुग्ने बताए । कार्यक्रम प्रधानाध्यापक विमना श्रेष्ठको अध्यक्षतामा भएको थियो ।