इटहरी/ पृथ्वीनारायण शाहको एकिकरण नीति अहिले पनि उत्तिकै सान्र्भिक रहेको नागरिक अगुवाहरूले बताएका छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै नागरिक अगुवाले राष्ट्रिय एकिकरण दिवस मनाउने बारे जानकारी गराएका छन् ।
पुस २७ गते दिवसलाई विभिन्न कार्यक्रम गरी मनाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सुवर्णबहादुर थापाको संयोजनमा बनेको मूल आयोजक समितिले यस वर्षको एकीकरण दिवसमा विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता र संक्षिप्त नगर परिक्रमा गर्ने बताइएको छ ।
पृथ्वी नारायण शाहको भूमिका र योगदानको विषयमा गरिएको वक्तृत्व कलामा विजेता ६ जना विद्यार्थीलाई सोही कार्यक्रममा पुरस्कृत गरिने छ ।
इटहरीस्थित रिर्पाेर्टस क्लब सुनसरीको भवनमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिँदै समितिका संयोजक सुवर्णबहादुर थापाले प्रत्येक वर्षझैं यस वर्ष भने प्रा.डा सुरेन्द्र केसी, डा. राजेश अहिराज प्रमुख वक्ता रहने बताए ।
कार्यक्रममा पृथ्वी नारायण शाहले नेपालको एकीकरण गरेको स्मरणमा चर्चापरिचर्चा गरिने छ । इटहरीस्थित धरान लाइनको स्काई प्लाजा अगाडि कार्यक्रम हुनेछ । सम्मेलनमा एकीकरण दिवसलाई क्रमशः सबैले भुल्दै गएको प्रति चिन्ता व्यक्त गरिएको थियो ।
































