तेह्रथुम / दुबईको युएईमा जेल परेका फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले ४ लाख रुपैयाँ सहयोग गरेको छ ।
मञ्चले मलेसियामा सङ्कलन गरेकोे ४ लाख ६० रुपैयाँ रकम जोगीको परिवारलाई हस्तान्तरण गरेको हो । मञ्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत् परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो ।
मञ्चले अभियानमार्फत् सङ्कलन गरेको रकम मञ्चको अनुरोध बमोजिम परिवारलाई उपलब्ध गराइएको वडाध्यक्ष मादेम्बाले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उद्धव तिम्सिना, तीनजुरे सामुदायिक अध्ययन केन्द्र म्याङलुङका अध्यक्ष विपिन सुब्बालगायतले मन्तव्य राख्दै रोजगारीका लागि मलेसिया पुगेका तेह्रथुमे र नेपालीहरूको ससानो रकम जम्मा गरी सहयोगका लागि पठाएकोप्रति कृतज्ञता व्यक्त गरे ।
सो अवसरमा फेदाप गाउँपालिका–२ का वडाध्यक्ष मादेम्बाको अगुवाइमा सङ्कलन भएको ६४ हजार १ सय रुपैयाँसमेत परिवारलाई हस्तान्तरण गरिएको छ । दुवै गरी कुल ४ लाख ६४ हजार १ सय ६० रुपैयाँ खड्गबहादुर जोगीकी आमालाई घरैमा पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष मादेम्बाले बताए ।
२०७० सालमा युएई गएका जोगीसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् । खड्गबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिह्राम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।
जोगी अहिले युएईको आबुधाबीस्थित अलवात्बा जेलमा रहेको पारिवारिक स्रोतले जनाएको छ । जोगीलाई नेपाल फर्काउन २ लाख दिह्राम अर्थात् नेपाली ६२ लाख रुपैयाँ जुटाउन देशविदेशमा अभियान चलेको थियो ।
अहिलेसम्म आवश्यक रकम जम्मा भइसकेको ‘खड्गबहादुर जोगी बचाउ अभियान’का अध्यक्ष दुर्गा गिरीले बताए ।
































