बेलबारी / आर्थिक अभावको कारण मृत्युसँग लडिरहेका मोरङ बेलबारी नगरपालिका वडा नम्बर ९ निवासी नलबहादुर धिमालकी २२ वर्षिया छोरी आस्मा र ८ वर्षिय छोरा अमित धिमालको उपचारका लागि नगरपालिकाले सहयोग गर्ने भएको छ ।
आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएका धिमाल दिदीभाईको उपचारमा बेलबारी नगरपालिकाले सहयोग गर्ने भएपछि उनको अहिले विपी कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । बुधबार देखी उनिहरुको उपचार हुन थालेको हो ।
उनीहरू जन्मिएको केही महिनापछि जीउमा सेतो दुबी देखा परेको थियो । उपचार गराउन आर्थिक अभावले नसकेको समयमा उनीहरूको उपचारमा बेलबारी नगरपालिकाले उपचारमा सहयोग गर्ने वचन दिएपछि अहिले उनीहरुको उपचार भईरहेको छ ।
दुबी शरीरभर फैलिएको र घाउ समेत हुन थालेकोको देखेपछि विरामीद्धयलाई उपचारमा लैजान बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सल्लाह दिएका थिए । उपचार गर्न नसक्दा दिदीभाइको आँखाको ज्योति गुम्ने खतरा बढिरहेका बेला मेयर सुवेदीले आफैँ चासो दिएका हुन् ।
आस्मा जन्मिएको ६ महिना र अमित जन्मिएको ३ महिनापछि उनीहरूको शरीरमा सेतो दुबी देखा परेको विरामीका बाबु नलबहादुर बताउँछन् । पाँच जना सन्तान मध्ये उनीहरुमा यस्तो समस्या देखा परेको हो । सामान्य परिवारका विरामीका अभिभावक अरुको जमिनमा खेती गरेर परिवार पाल्दै आएका छन् ।
दुवै छोरीछोरीको आँखा समेत बन्द हुँदै गएपछि धिमाल परिवार थप चिन्तामा परेका थिए ।
































