धरान/ एसियाली विकास बैङ्क (एडिवी) को ऋण अनुदानमा सञ्चालित धरानको खानेपानी आयोजनासँग सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संर्घष समितिसँग ११ बुँदामा सहमति गर्यो ।

सहमतिको नवौं बुँदामा आयोजनाले भूमिगत स्रोतबाट दैनिक १ करोड ५२ लाख लिटर पानी उत्पादन गर्ने छ भनी उल्लेख छ । जुन्, ५० औं वर्षसम्म उत्पादन हुने आयोजना प्रतिवद्ध गर्दछ भनेर उल्लेख समेत गरेको छ ।

तर, २०७५ जेठ १९ गतेदेखि २९ गतेसम्म नेपाल खानेपानी संस्थान धरान शाखाको सुम्निमा पानी ट्याङ्न्कीमा औषतमा दैनिक १३ लाख लिटर पानी आपूर्ति गरेको देखिन्छ । आयोजनाले त्यहाँ दैनिक ५० लाख लिटर पानी आपूर्ति गर्ने दाबी गरेको थियो ।

यसविषयमा आयोजनाका प्रमुख व्यवस्थापक इञ्जिनियर राजु पोखरेल भन्छन्,–‘एउटा पम्पबाट हामीले पानी आपूर्ति गरेका थियौं । त्यो फुल स्टेजमा थिएन ।’

प्रमुख पोखरेलका अनुसार खानेपानी संस्थानले ५० लाख लिटर किन्ने भनेर माग गरेको तर, हामीले त्यो अनुसार नै दिन्छौं भनेर भनेको अवस्था थिएन । यता संस्थानका प्रमुख इञ्जिनियर रामकुमार श्रेष्ठले दैनिक ५० लाख लिटर पानी दिने भए पनि त्यो अनुसारको पानी आउन नसकेको बताए ।

आयोजनाको कुम्भीआलमा २ वटा पम्प छन् भने कुमारखतमा ४ वटा पम्प छन् । एउटा पम्पको आपूर्तिको अवस्थालाई योगफल गर्ने हो भने ६ वटा पम्पबाट औषतमा दैनिक ७८ लाख लिटर मात्रै पानी आपूर्ति हुने देखिन्छ ।

खानेपानी संस्थानले प्रयोग गर्दै आइरहेको सतहगत स्रोतलाई आधार मान्दा दैनिक ४५ लाख लिटर पानी आपूर्ति हुन्छ । यो हिसाबले धरानमा दैनिक १ लाख २३ हजार लिटर मात्रै पानी आपूर्ति हुने देखिन्छ ।

तर, सङ्र्घष समितिसँग गरिएको सहमतिअनुसार पानी आपूर्ति हुने सम्भावना क्षीण रहेको तथ्याङ्कले नै प्रष्ट पार्दछ । समितिका संयोजकसमेत रहेका सुजेन्द्र गोले आफै पनि १ करोड ५२ लाख लिटर पानी आपूर्ति होला भन्नेमा विश्वस्त देखिदैनन् ।

भन्छन्,-‘पानी उत्पादनका हिसावले आश्वस्त हामी आफैँ पनि छैनौं ।’ उनका अनुसार कुमारखत पम्प चलाएर हेर्दा लक्ष्यभन्दा बढी उत्पादन भएको भनेर आयोजना प्रमुख राजु पोखरेलले दाबी गरेका थिए । त्यही बेला आफूहरूले संयुक्त रूपमा ‘फ्लो मिटर’ जडान गरेर सङ्कलन गर्ने ट्यान्कीमा हेरौं, वितरण गर्ने सवस्टेसनमा पनि हेरौं भनेर भनेका थियौं । ‘इण्डिभिजुअल पम्पमा फ्लो मिटर राखेर हेरेका थियौं ।’ उनी भन्छन्,-‘सबै पम्प चलाएको बेलाको फ्लो मिटरमा उत्पादन हुन्छ कि हुँदैन । वितरण ट्यान्कीमा पानी आउछ कि आउँदै त्यो हेर्न बाँकी छ ।’ पम्पबाट तानेपछि जुन–जुन सिस्टममा झारिने छ त्यो सिस्टममा पनि ‘फ्लो मिटर’ राखेर जाँच गरेपछि मात्रै सहमतिअनुसार काम भएको भनी विश्वास गर्न सकिने आधार बन्ने उनी बताउँछन् ।

आयोजना भने सोचभन्दा बढी उत्पादन भइरहेको दाबी गर्न छाडेको छैन । प्रमुख पोखरेल भन्छन्,–‘डिजाइन अनुसार पानी उृत्पादन गरेका छौँ । अलिकति बढी नै उत्पादन भएको छ । सबैतिर फ्लो मिटर पनि राखेका छौं ।’ धरानमा दैनिक ३ करोडको हाराहारीमा पानीको माग छ ।

अहिले खानेपानी संस्थानले दैनिक सुख्खा मौसममा १ करोड २० लाख लिटर पानी आपूर्ति गरिरहेको छ । आयोजनाले सङ्र्घष समितिसँगको सहमतिअनुसार १ करोड ५२ लाख लिटर पानी आपूर्ति गरेको खण्डमा २ करोड ७२ लाख लिटर पानी हुन आउँछ । जुन मागअनुसार आपूर्ति हुने अवस्था देखिन्छ ।

तर, एकीकृत सहरी विकास आयोजना (आइयुडीपी) ले सन् २०३१ सम्म करिब ३ करोड धरानबासीलाई २४ सै घण्टा पानी आपूर्ति गर्न सक्ने भनी सन् २०१२ मे ८ मा सम्झौता गरेको थियो । १५ वर्षसम्मको डिजाइन तयार पारेर सन् २०१७ जुनमा आयोजनाको भौतिक निर्माणको काम सम्पन्न गरी पानी खुवाउने सम्झौता भएको थियो ।

तर, सम्झौताको अवधिमा पूरा नभएपछि पहिलो पटक १ वर्ष र दोस्रो पटक ६ महिना म्याद थप गर्दै सन् २०१८ डिसेम्बरबाट पानी खुवाउने भनी अन्तिम सम्झौता भएको थियो । अहिले विजयपुर सवस्टेसनको विवादको कारण देखाउँदै आयोजनाले अन्यत्र पनि भनेजसरी पानी वितरण गर्न सकेको छैन ।

आयोजनाका प्रमुख पोखरेल भन्छन्,–‘हामीले तीन–चारदिनदेखि पिण्डेश्वर सिस्टमबाट पानी परीक्षण वितरण गरिरहेका छौं ।’