यासोक (पाँचथर)/ बर्खाको समयमा राम्रो ओत लाग्ने छानो छैन । सुख्खा खडेरीले वनपाखामा पाइने खरुकी पनि सुकेको छ । गाउँमा छिमेकीले जस्ता पाताले घर टल्काएका छन् । त्यही गाउँको बीचमा तारा माझीको घर छ । आर्थिक अवस्था कमजोर भएपछि बनिबुतो गरेर ६ जनाको परिवार पाल्दै आएकी छन् ।
गाउँमा सबैको घरमा जस्ताको छानो देखेका उनका छोराछोरी घरमा जस्ताको छानो लगाउन कर गरिरहन्छन् । तीन वर्ष भयो श्रीमान् बितेको वर्षौंदेखिको परिवारको सपना पूरा गर्न नसकेकी तारा निःशुल्क जस्ता पाता पाउने भएपछि दङ्ग परिन् । पाँचथरको कुम्मायक गाउँपालिका–५ का अति विपन्न, अपाङ्गता भएका र एकल महिलालाई वडाले निःशुल्क जस्ता वितरण गर्ने भएपछि तारा पनि मख्ख छिन् ।
‘धेरै वर्ष भयो घरको छानो लगाएको गाउँमा सबैको घरमा जस्ता पाताको छानो छ, छोराछोरीको इच्छा पूरा गर्न नसकेकोमा दुःख लाग्थ्यो, तर अहिले भगवानले पु¥याए जस्तो लाग्छ ।’ हर्षित हुँदै ताराले भनिन् ।
उनीजस्तै, कुम्मायक–५ का ईश्वर चेम्जोङको पनि खुसीको सीमा छैन । आफूलाई वडाले विपन्नको सूचीमा राखेकामा उनी खुसी छन् । केही वर्ष अगाडिको घट्ना स्मरण गर्दै उनी भन्छन्, ‘गरिबीको पीडाबाट मुक्त हुन भारतको कोइलाखातमा पुगेको थिएँ, १ वर्षमै दुर्घटनामा परी शरीरको मेरुदण्ड नै भाँचियो, उपचारमा धेरै पैसा सकियो, तर ठीक भएको छैन, यस्तो अवस्थाको मलाई वडाले जस्ता पाता दिएर पूण्यको काम गरेको छ, यो गुन कहिल्यै बिर्सिन्न ।’
कुम्मायक–५ को वडा कार्यालयले साविक वडाका विपन्न, अपाङ्गता भएका र एकल महिलाहरूको सूची तयार गरी १४ घरधुरीलाई ओत लाग्ने छानो वितरण शुरु गरेको छ । आर्थिक वर्ष ०७५÷७६ बजेटबाट वडाले ४ लाख ५० हजारमा जस्तापाता खरिद गरी निःशुल्क वितरण गर्न लागेको हो ।
‘निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू पूरा गर्न अझै धेरै काम बाँकी छ,’ वडा अध्यक्ष यामबहादुर बोहोराले भने, ‘विपन्नको अनुहारमा आशाको किरण जगाउने मेरो उद्देश्य अनुरुप वडाले विपन्नलाइ छानो वितरण गरेको हो, अझै पनि वडाका धेरै गरिबीको रेखामुनि छन् ।’
वडाले विपन्न समुदायमुखी काम गर्ने लक्ष्य लिएको बोहोराले सुनाए । ‘प्रत्येक वर्ष वडाभित्र रहेका आर्थिक अतिविपन्न, अपाङ्गता भएका, अल्पसङ्ख्यक र एकल महिलाहरूको तथ्याङ्क सङ्कलन गरी यस्तै कार्यक्रमहरू सञ्चालन गर्ने वडा कार्यालयले जनाएको छ ।
कुम्मायक गाउँपालिका सुख्खाक्षेत्र भएकाले आगलागीको उच्च जोखिम भएको भन्दै स्थानीयले जस्तापाताको छानो प्रयोग गर्दै आएका छन् । वर्षात्को पानी सङ्कलन गर्न पनि सहज हुने भएको भन्दै कतिपय स्थानीयले ऋण काढेर पनि जस्तापाता लगाउने गरेका छन् ।
































