दमक/ ब्लाष्ट टाइम्स दैनिकको अनलाइन संस्करणमा समाचार प्रकाशन भए पछि झापा कमल गाउँपालिका वडा नं ७ की कुलमाया बस्नेतको उपचारका लागि विभिन्न मनकारीहरूले चासो देखाएका छन् ।
उनीहरूले निःशुल्क उपचार गराउनेदेखि लिएर बिरामी कुरुवालाई समेत खाना खर्च बेहोर्न गरी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
जसअनुसार उनको उपचारका लागि दमक स्थित एडभान्स हस्पिटलमा राखिएको छ । हस्पिटलका सञ्चालक बलराम पराजुलीले अस्पतालमा सम्भव हुने सम्पूर्ण उपचार अस्पतालले निःशुल्क गरिदिने बताएका छन् ।
साथमा उनलाई कुर्न बस्ने कुरुवालाई समेत निःशुल्क खाना र बस्नको समेत व्यवस्था मिलाएको उनले बताए । अहिले कुलमायाको एडभान्स अस्पतालको क्याबिन नं २ मा उपचार भइरहेको छ ।
सहयोग समिति गठन
कुलमायाको अवस्थाको बारेमा समाचार प्रकाशन भएपछि विभिन्न स्थानबाट सहयोग गर्ने दाताहरू सम्पर्क आएका छन् । सबैले गर्न चाहेको सहयोग सहज र सरल होस भन्ने उद्देश्यले स्थानीय बुद्धिजीवी हुकुमसिंह राईको संयोजकत्वमा ७ सदस्य समिति गठन गरिएको छ ।
‘कुलमाया बचाउ अभियान’ समिति नाम दिइएको सो समितिमा स्थानीय युवराज पाठक, हर्कबहादुर राया, सन्तोष भण्डारी, स्थानीय रेवता थापा र पत्रकारद्वय सुदीप अधिकारी र नगेन्द्रमणि न्यौपाने सदस्य छन् ।
उनलाई सहयोग गर्न चाहने मनकारीले सिद्धार्थ बैङ्क दमक शाखामा रहेको कुलमाया बस्नेत बचाउ अभियान समितिको खाता नम्बर ००७१५१५४७८१ मा सहयोग जम्मा गर्न सक्ने समितिका संयोजक हुकुमसिंह राईले जानकारी दिएका छन् ।
अवस्था बुझ्न अस्पताल
बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गत निर्वाचनमा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उमेदवार डा. खगेन्द्रपाण्डव अधिकारीसहितको टोली अस्पताल पुगेको छ । त्यसैगरी सोमबार समिति बिमारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको छ ।
साथै केही दाताहरूले आर्थिक सहयोग समेत गरेका छन् । बस्नेतको उपचारका लागि दमकका आरके थापाले ७ हजार १ सय र दमक–५ का योगबहादुर खड्काले पाँच हजार १ सय आर्थिक सहयोग गरेका थिए ।
































