भोजपुर/ भोजपुरको षडानन्द नगरपालिकास्थित इलाका प्रशासन कार्यालय दिङ्ग्लाबाट राहदानी वितरण शुरु भएको छ ।  राहदानी वितरण शुरु भएसँगै स्थानीय हर्षित बनेका छन् ।

पुष १ गतेबाट राहदानी दिन थालेको हो । अब उत्तरी भोजपुरबासी सदरमुकाम धाउनुपर्ने समस्याबाट मुक्त बनेका छन् । इलाका प्रशासनबाट दिइने सेवामार्फत् नगरपालिका १४ वटा वडा र गाउँपालिकाको ६ वटा वडाका जनता प्रत्यक्ष लाभान्वित भइरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताइन् ।

राहदानी बनाउन सदरमुकाम आउँदा कम्तिमा पाँच हजार खर्च हुने गरेको षडानन्द नगरपालिकाका सन्तोष राईले बताए ।

इलाका प्रशासनले नागरिकताको प्रमाण–पत्र वितरण, आदिवासी जनजाति, दलित समुदायको कागजात प्रमाणित, राहदानी सिफारिस, नावालकको परिचय–पत्र वितरणलगायत काम गरिरहेको षडानन्द नगरपालिकाका मेयर वीरबल राईले बताए ।

साल्पासिलिछो गाउँपालिकाको किमालुङ, दोभाने, कुदाकाउले, देउराली, केउरेनीपानीलगायत उत्तरी भेगका जनता लाभान्वित बनेका छन् । इलाका प्रशासन कार्यालय दिङ्ग्ला २०५६ सालमै स्थापना भएको हो ।