दमक/ खोला भन्ने बित्तिकै नेपालमा बाढी पहिरो लाग्ने, कटान हुने, दु:खका रूपमा बुझ्ने गरिएको छ । साधारण खोला बग्ने पानीलाई सदुपयोग गर्दा यो आम्दानीको राम्रो स्रोत हुनसक्छ ।

वर्षौदेखि खोलामा तेत्तिकै पानी खेर गइरहेको छ । खोलामा पनि खेती गर्न सकिन्छ भन्ने प्रायः सोच हुँदैन । खोलाको पानीलाई सदुपयोग गर्दा खेती गर्न सकिन्छ । यसले प्रसस्त आम्दानी पनि दिनसक्छ भन्ने कमैलाई मात्र थाहा छ । यस्तै आम्दानीको स्रोत भएको छ अहिले मोरङ जिल्लाको लेटाङ नगरपालिका–६ स्थित चिसाङ खोला ।

यहाँ खोलाभित्र लगभग ३० रोपनी क्षेत्रफलमा सिमेसाग खेती गरिएको छ । यो खोला खेती यस क्षेत्रका किसान परिवारको आम्दानीको राम्रो स्रोत भएको छ । यस क्षेत्रका झण्डै ३० घर परिवार सिमे साग खेतीबाट नै आत्मनिर्भर भएका छन् ।

खेती गर्न खेतबारी नै चाहिँदैन भन्ने लेटाङका किसानले पुष्टि गरेका छन् । खोलाको किनारलाई साना–साना प्लटमा पानी जमाएर सिमे सागको खेती गरिहरेका छन् । उनीहरूले व्यवसायिक खेती गरेर राम्रो आम्दानी लिइरहेका छन् ।

वर्षायाममा दशा बनेर आउने खोलाको बाढी हिउँद लागेपछि गरिखाने थलो बनेको छ । यही खेतीबाट स्थानीयले लाखौं आम्दानी लिइरहेका छन् । उत्तरी मोरङको चिसाङ खोलामा स्थानीय किसानले सिमेसागको व्यवसायिक खेती गरेर जीविकोपार्जन गरिरहेका छन् । सिमेसागको खेती गरेर पारिवारिक जीविकामात्र चलाइरहेका छैनन् बचत समेत गर्ने गरेका छन् ।

यो क्षेत्रमा सबैंभन्दा बढी १० रोपनी क्षेत्रफलमा सिमेसाग खेती गरिरहेका गणेशबहादुर लिम्बू खोलामा गरिएको सिमेसागबाट मासिक एकलाख भन्दा बढी आम्दानी भइरहेको बताउँछन् । सिमेसाग टिपिरहेकी मनमाया लिम्बू खेतमा रोपिएको धानबाट हुने आम्दानी भन्दा बढी हुने बताउँछिन् ।

यसै कारण धान खेती गर्नु भन्दा खोलामा सिमेसाग खेती गर्न थालेको बताउँछिन् । आम्दानी राम्रो भएपछि अहिले तँछाड–मछाड गर्दै खोलामा भाग लगाएर किसान सिमेसागको खेती गरिरहेका छन् ।

छोटो अवधिमा र थोरै लगानीमा नै मनग्गे आम्दानी हुने भएपछि किसानको आकर्षण खोला खेतीप्रति बढेको हो ।  वरिपरि ढुङ्गाले छेकेर सानो सानो चक्ला बनाइएको छ । यसबीचमा पानी जमाएर सिमेसाग छरिन्छ । रोपिएको १ महिनामा नै टिप्न मिल्ने सिमेसागको बजारमा माग समेत अत्यधिक छ ।

सामान्यतः यो मङ्सिरदेखि बैशाखसम्म ६ महिना राम्रो हुने किसानको भनाइ छ ।  वर्षाको पानी हटेर हिँउद लागेपछि शुरु गरिने यो खेती वर्षा लागिसक्नुभन्दा अगाडि उठाइसक्नु पर्छ । त्यसपछि खोलामा आउने बाढीले खेती बगाउने भएकाले ६ महिनामात्र यो खेती गर्ने गरिन्छ । यो खेतीमा अन्य धेरै किसान सहभागी गर्न सकेमा राम्रो रोजगार स्थल बन्ने देखिन्छ ।

लेटाङको वडा नं. ६ ले सिमेसाग खेती गर्ने किसालाई चिसाङ खोला उत्खनन् गरेर आएको आम्दानीले बलियो बाँध निर्माण गर्ने योजना रहेको वडाध्यक्ष जङ्गवीर तामाङले बताएका छन् । लेटाङका किसानहरूको मुख्य आम्दानीको स्रोत सिमेसाग नै रहेको छ ।

र खोला नदीको उचित व्यवस्थापन गरिदिने हो भने बाह्रैमास सिमेसाग उत्पादन गर्न सक्ने यहाँका किसानहरूले बताएका छन् ।