विराटनगर/ मोरङ ग्रामथानगाउँपालिका-७ की इसुमती चौधरीलाई न रातमा निन्द्रा लाग्छ नत राम्रोसँग खाना खान मन ।

खाली जिन्दगी भरको कमाइबाट जोडेको घर जग्गा हराएको चिन्ताले दिनरात सताएको उनले गहभरी आँखु पार्दै गुनासो पोखिन् । जग्गा दलालको विभिन्न तानाबानाका कारण उनीले मेहनतले कमाएको करोड बढी मूल्य पर्ने घरको नक्सा र जग्गाको लालपूर्जा हातमा भएरपनि घर जग्गा भने गायब छ ।

यसरी हातमा लालपूर्जा भए पनि घर जग्गा गायब भएपछि समस्यामा यहाँका ४ घर परिवारलाई अहिले ठूलो आपतमा परेका छन् ।

इसुमती चौधरीले २०६९ सालमा स्थानीय कृष्ण श्रेष्ठबाट साढे ६ लाख रुपैयाँमा ५ धूर जग्गा खरिद गरेकी हुन् । ‘आफ्नो जग्गामा कहिले बालुवा चालेर त कहिले बनिबूतो गरेर कमाएको पैसा तथा बैंकबाट ऋण काढेर झण्डै ६० लाखमा दुई तल्ले घरमा बनाए,’ उनले भनिन्, ‘६ नम्बर वडा कार्यालय र ७ नम्बर वडाको सिमाना विवादको टुंगो नलाग्दा अहिले समस्यामा परेको छु ।’ सिमाना विवादको टुंगा नलाग्दा घर भत्किने चिन्ताले सताएको उनले बताइन् ।

छिमेकीले आफ्नो जग्गा उनको घर बनाएको ठाउँमा परेको भन्दै अदालतमा दिएको निवेदन सदर भएपछि उनको घर भत्काउन प्रहरीसहित घरमा पुगेको थियो । ‘दुःख गरेर कमाएको पैसाले बनाएको घरमा अर्कैले ताला लगाइदियो,’ उनले भनिन्, ‘दुखले बनाएको घरको सिसा समेत भत्काइदिएको छ ।’

उनको घरबाट उत्तरपट्टि रहेको छिमेकीको जग्गा १५ फिट गायब भएपछि मुद्दा परेको थियो । त्यसपछि इसुमतिको सिमाना १५ फिट पर सर्ने र अर्को घर पनि भत्किने अवस्था बनेपछि दक्षिणी छिमेकी प्रमिता खामाजी र विरेन्द्र चौधरीको पनि करोड बढी लगानी गरेर बनाएको घर भत्किने अवस्थामा पुगेको छ ।

दक्षिणतिर सिमाना सर्दै गएपछि अन्तिममा ग्रामथान गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयको ऐलानी जग्गा सर्ने देखिन्छ । तर, ६ नम्बर र ७ नम्बर वडा कार्यालयले सिमाना सही ढंगले नछुट्याउँदा र घर भत्किने अवस्थामा पुगेका उनीहरुको समस्या समाधानका लागि पहल नगर्दा आफूहरु मारमा परेको पीडितहरू बताउँछन् ।

यसअघि प्लटिङ गर्नेहरुले जथाभावि गर्दा समस्या आएको स्थानीय बलभद्र चौधरीले बताए । ‘सर्वसाधरणको जग्गा धनीपूर्जामा देखिएपनि व्यवहारिक हिसाबले जग्गा नभेटिनु भने लाजमर्दो कुुरा हो,’ उनले भने, ‘यसतर्फ सम्बन्धीत निकायले ध्यान दिएर जनतामा परेको समस्या समाधान गर्नु पर्दछ ।’

वडा नम्बर ६ का वडाध्यक्ष सवदनारायण चौधरी पनि प्लटिङ गर्नेहरुकै कमजोरीका कारण स्थानीयले दुःख पाएको बताए । घर बनाएर बसिरहेका स्थानीयको घर भत्काउने कुनै पनि काम राम्रो नहुने भन्दै उनले प्लटिङ गर्नेहरुले स्थानीयको जग्गालाई बाटोमा पारेको हुनसक्ने र खोजी गर्नुपर्ने विषय भएको उनले बताए ।

स्थानियको समस्याको सावधान गर्न आफु लागि परेको उनको भनाई थियो ।

साविक बनिगामा गाविस हाल ग्रामथान वडा नम्बर ६ का वडा कार्यालय रहेको स्थानको कित्ता नम्बर १२, ५, ११, १३ र १४ को ७ कठ्ठा साढे १३ धुर जग्गा सरकारको नाममा रहेको छ । सोही जग्गासँग टाँसिएको जग्गा सर्दै आउँदा ऐलानी जग्गा व्यक्तिको हुनसक्ने भन्दै स्थानीयले भने सिमांकनको माग गर्दै आएका छन् ।

वडा नम्बर ६ र ७ का ७८ जनाले स्थानीयको जग्गा हराएको भन्दै पुनः सिमांकन गर्नुपर्ने र धनीपूर्जामा उल्लेखित जग्गा हुनुपर्ने माग गर्दै आएको भएपनि गाउँपालिका तथा वडा कार्यालयहरुले चासो नदिएको उनीहरूले गुनासो गरेका छन् ।