उर्लाबारी / उर्लाबारी–७ स्कुलडाँडाका रामबहादुर थापाको घरमा आगलागी हुँदा आगोले जलेर ४५ वर्षीया बुहारी रिना थापाको सोमबार साँझ मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रामप्रसाद तिमल्सिनाका अनुसार आगलागीको समयमा घरमा ८४ वर्षीय ससुरा रामबहादुर र बुहारी रिनामात्रै रहेका थिए । रामबहादुरलाई स्थानीयबासी र प्रहरीले उद्धार गरे पनि बुहारी कोठामा चुक्कुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा जलेर मृत्यु भएको उनले बताए ।

घरमा ससुरा रामबहादुर र बुहारी रिनासँगै २५ वर्षीय नाति हेमन्त थापा बस्दै आएका थिए । आगलागीको समयमा हेमन्त भने घर बाहिर रहेका थिए । आगलागीबाट फुस र बासको टाटीले बारेको घर जलेर नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न नसकेको इन्स्पेक्टर तिमल्सिनाले बताए । आगोलाई झापाको दमकबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।