पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चर नगरको उत्साहि साना किसान सहकारी संस्थाको सातौं स्थापना दिवशका अवसरमा विहीवार कृषकहरुलाई प्रोत्साहित गर्दै कृषिजन्य सहयोगी सामग्रीले सम्मानित गरिएको छ ।

नगरमा रासायनिक विषादी र रासायनिक मल रहित कृषि प्रणालीमा प्रोत्साहित गर्न कृषक कमलादेवी सिटौला, सरिता शिवा र हिलालाल विश्वकर्मालाई तरकारी फलफुल वोक्ने क्रेट, पानी हाल्ने हजारी प्रदान गरी सम्मानित गरिएको छ ।

लोकल कुखुरापालनलाई प्रोत्साहन गर्न उत्कृष्ठ लोकल कुखुरापालक वर्षा भण्डारी र वाख्रापालक दुर्गादेवी तिम्सिनालाई पनि उसैगरी सहयोगी सामग्रीले पुरस्कृत गरिएको छ ।

नगर उप-प्रमुख यमुना बिष्ट बास्तोला, पूर्व सांसद चण्डीप्रसाद राई सहितका समाजका अगुवाद्धारा सम्मानित गरेको हो । एकल महिलातर्फ रणमाया ओझा, रणमाया राई, विष्णुकुमारी लिम्बू, ज्ञानमाया आचार्य, दुर्गादेवी पोखरेल, ज्येष्ठतर्फ डम्बरबहादुर राई र मित्रलाल राईलाई पनि दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ ।

उत्कृष्ठ बाल बचतकर्ता सलिना भण्डारीलाई पनि पुरस्कृत गरिएको छ । नगर उपप्रमुख बास्तोलाले मन्तब्यका क्रममा नगरमा अग्रानिक उत्पादनलाई प्राथमिकता दिँदै आएको सहकारीको कृषक जागरण कार्यक्रम सबैजसो वडाहरुका लागि पनि सन्देश भएको बताइन् ।

ख्रीष्मस शुभकामनाका अवसरमा विहीबार नै सो नगरका २ दर्जन ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहितले सम्मानित गरिएको छ । पूर्वीमोरङ इसाई समाजको आयोजनामा वडा नम्बर-१० मा आयोजित कार्यक्रममा नगरपालिका प्रमुख दिलिपकुमार राई, समाजका पूर्व अध्यक्ष इन्द्र सुब्बा सहितले सीतादेवी श्रेष्ठ लगायतका ज्येष्ठ नागरिकलाई ज्याकेट, दोसल्ला, सम्मानपत्र र नगदले सम्मानित गरेका छन्

सो अवसरमा, नगर प्रमुख राईका साथै पास्टर आयान राई, राजकुमार राई, रविन खड्का सहितले मन्तब्य व्यक्त गर्दै ज्येष्ठहरुलाई सबैले सधै सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।