धरान/ अक्षयकोष स्थापनार्थ हास्यव्यङ्ग्य कलाकार गणेश इसाराले देशव्यापीरूपमा ‘एकल कमेडी शो’ गर्ने भएका छन् ।  कमेडी शोको प्रारम्भ धरानबाट गर्दै छन् । पौष १४ गते धरानको सभागृहबाट शोको प्रारम्भ गर्ने कलाकार इसाराले बताए ।

दिवङ्गत समाजसेवी वीरमाया राई (शोभोमा) को जन्मजयन्तिको अवसर पारेर अक्षयकोष सङ्कलन अभियान थाल्ने भएका हुन् । वीरमाया नाताले उनको बज्यै हुन् । आमाको देहान्तपछि झण्डै १२ वर्षसम्म इशारालाई वीरमायाले नै पालनपोषण गरेकी थिइन् ।

उनकै सम्झनामा उनले देशभर कमेडी शो गर्दै अक्षयकोष स्थापना गर्ने भएका ह’न् । उक्त अक्षयकोषबाट सङ्कलित रकम गरिब तथा विपन्न परिवारका बालबच्चाको शैक्षिक सामग्रीका लागि खर्च गर्ने उनले बताए ।

देशभरका प्रमुख सहरमा गरिने कार्यक्रम अन्तर्ग धरानको कार्यक्रम पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गर्दै छ ।  पहिलो पटक गर्न लागेको एकल कमेडी शोले आफू उत्साहित रहेको कलाकार इशाराले बताए । धरानमा उनलाई गायक शिव थापा मगर, भक्तिराज राई, समिर सिङ्गक, राकेश किराती, सन्तोष ओमेगा र ज्याक गुरूङले साथ दिँदैछन् ।

उनी १२ महिनाको हुँदा आमा बितेपछि टुहुरा बनेका भोजपुर बासिखोरा–४ खोस्किकका इशाराले धरान हुँदै यात्रा पोखरा, बुटबललगायतका सहरमा ह’ने छ । इशारा लामो समयदेखि प्रहसन, चुट्किला तथा हास्यव्यङ्ग शैलीमा दर्शकलाई हसाउने गरेका छन् ।

 यसअघि उनको २०७१ सालमा काठमाडौंको नाचघरमा पहिलो एकल शो भएको थियो । तर, त्यो देशव्यापी थिएन । उनको ‘दुर्गति, ‘साँढेतन्त्र, ‘सदन हल र भट्टी पसल उस्तै, ‘भद्रगोल डटकम’लगायतका भिडियो एल्बम सार्वजनिक भइसकेका छन् ।