पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहको आठौं वार्षिक साधारणसभामा जेष्ठ नागरिक र अपाङ्गता भएका २२ जनालाई सम्मान गरिएको छ ।
प्रत्येक टोलबाट एक–एक जनाका दरले ८० वर्ष माथिका ११ जना जेष्ठ नागरिक र ११ जना अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, विशिष्ठ अतिथि सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मोरङका उपाध्यक्ष कृष्णकुमार राई लगायतले नगद, प्रमाण–पत्र र दोसल्लाले उनीहरुलाई सम्मानित गरेका छन् ।
सोही अवसरमा विपन्न उपभोक्ता परिवारका ११ जना बालबालिकाहरुलाई छात्रवृत्ति स्वरुप शैक्षिक सामग्री र नगद समेत प्रदान गरिएको थियो ।
समूहले गत आर्थिक वर्षमा ४५ लाख ५७ हजार ६ सय ५४ रुपैयाँ आम्दानी गरी विभिन्न शीर्षकमा खर्च गरेको समूहकी कोषाध्यक्ष सकुन्तला राईले गराइन् । जसमा पर्यटकीय क्षेत्र बनाएर आम्दानी गर्ने उद्देश्यले बाघे सिमसार क्षेत्र संरक्षण गर्न सुरु गरेको छ ।
समूहले गरिवि न्यूनिकरण अन्तरगत कृषी औजार वितरण, महिला सिप विकास तालिम अन्तरगत सिलाई कटाई, हाउस वायरिङ, बाख्रा पालन सम्बन्धि तालिमहरुको आयोजना गरेको सचिव मैनादेवी आचार्य फुयाँलले जानकारी गराइन् ।
डाँसखोलाले मुलधार छोडी वनक्षेत्र अत्याधिक कटान गरेको हुँदा कटान क्षेत्रमा तारजाली तटबन्ध बनाउने उद्देश्य राखिएको अध्यक्ष ईश्वर चौहानले सभामा जानकारी गराए ।
































