तेह्रथुम/ नेपाल पत्रकार महासंघ तेह्रथुमले जिल्लाका ४ जना पत्रकारहरुलाई सम्मान र पुरस्कृत गर्ने निर्णय गरेको छ ।
पत्रकार महासंघको मातहतमा रहेको ४ वटा अक्षयकोषको ब्याजबाट पत्रकारितामा योगदान गर्ने ४ जना पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो । पत्रकारीता विकास सम्मान कार्यक्रमबाट पत्रकार महासंघका सस्थापक अध्यक्ष महेन्द्र काफ्लेलाई सम्मान गर्ने निर्णय गरेको छ ।
जिल्लामा पत्रकारिताको विकासका लागि स्थानीय समाजसेवी उमादेबी कार्की र तेजबहादुर कार्कीले पत्रकार महासंघको नाममा राखिदिएको ५० हजार रुपैयाको अक्षयकोषको ब्याजबाट काफ्लेलाई सम्मान गर्न लागिएको पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाले बताए ।
यस्तै समाजसेवी राधीका पोख्रेलद्धारा राखिएको १ लाख रुपैँयाको अक्षयकोषको ब्याजबाट तेह्रथुम क्रियासिल पत्रकारिता पुरस्कार ब्लाष्ट दैनिकका तेह्रथुम समाचारदाता कृष्ण बिदुखी गौतमलाई सम्मान गर्ने निर्णय भएको छ ।
जिल्लाको पत्रकारितामा महिलाहरुको समेत सहभागीता बढाउनका लागि स्थानीय सोम निरौलाले राखि दिनु भएको १० हजारको अक्षयकोषको ब्याजबाट पत्रकार गोमा रसाईलीलाई र आर्थिक समाचार खेल्ने पत्रकारलाई पुरस्कृत गर्न सहयोगी बचत तथा ऋण सहकारी सस्थाले राखेको नगद १० हजारको सहयोगी आर्थिक पत्रकारीता पुरस्कारबाट पत्रकार बिष्णु राईलाई सम्मान र पुरस्कृत गर्ने निर्णय गरेको उपाध्यक्ष मनोज लिम्बूले बताए ।
यस्तै पत्रकार महासंघको बैठकले नगरपालिकाको सहयोगमा बन्ने पत्रकार महासंघको भवन निर्माणका लागि अध्यक्ष ढुंगानाको अध्यक्षतामा भवन निर्माण समिति समेत गठन गरेको छ ।
म्याङलुङ नगरपालिकाको कार्यालय नजिकै रहेको पत्रकार महासंघको स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य सुरु गर्ने भएको छ । पत्रकार महासंघ तेह्रथुमले बितरण गर्ने विभिन्न बिद्याका पुरस्कार र सम्मानहरु आउदो मंसिर २७ गते आयोजना हुने साधारण सभामा बितरण गर्ने महासंघका कोषाध्यक्ष दिपक कट्टेलले जानकारी दिए ।
































