मधुमल्ला /  मोरङको उर्लाबारी नगरपालिका–७ का ४७ वर्षीय मानबहादुर भण्डारी दुई महिनादेखि मृगौला रोगले पीडित भएर घरमा थलिएका छन् ।
जनमन गरेर परिवारको जीविकोपार्जनका लागि जोहो गर्दै आएका भण्डारी आफैं थला परेपछि परिवार थप सङ्कटमा गरेको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि भण्डारी सहयोगी हातको खोजीमा छन् । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा भण्डारीको दुवै मृगौलाले काम नगरेको र मृगौला प्रत्यारोपण गर्नु पर्ने डाक्टरले सल्लाह दिएपछि दुई छाक टार्न धौधौ हुने भण्डारी परिवार यतिबेला सहयोगी दाता खोज्दै छन् । उर्लाबारी नगरपालिका वडा नं. ७ ले मृगौला पीडित भण्डारीको आर्थिक अवस्था ज्यादै कमजोर भएको भन्दै सहयोगका लागि सिफारिस गरिदिएको छ । आर्थिक अभावकै कारण हालसम्म भण्डारी घरमै थलिएका छन् । ऋणपान गरेर हालसम्म १ लाख रुपैयाँभन्दा बढी उपचारको क्रममा खर्च भइसकेको र हाल पैसाको अभावका कारण रोग पालेर बस्नु परेको पीडित भण्डारीले मलिन स्वरमा भने । सबैको साथ र सहयोग भएको खण्डमा सञ्चो हुने आशा जीवितै रहेको उनी बताउँछन् । पीडित भण्डारीका १ छोरा र श्रीमती रहेका छन् । छोरा किरोज भण्डारी पनि मुटु रोगी छन् । मानबहादुरका १४ वर्षीय छोरा किरोज कक्षा ९ मा पढ्छन् । उनी पढाइमा निकै तेज छन् । यतिबेला मानबहादुरको परिवारले आर्थिक सहयोगको लागि अनुरोध गरिरहेको छ । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका मानबहादुरको कुनै आम्दानीको स्रोत छैन । जग्गाजमिनको नाममा ५ धुरबाहेक केही छैन । ५ धुरमा सानो कटेरो बनाएको मानबहादुरको आर्थिक अवस्था कमजोर भएका कारण मृगौला प्रत्यारोपण गर्न सक्ने अवस्थामा छैनन् । ब्लाष्टकर्मीसँग कुराकानी गर्दै मानबहादुर भन्छन्– ‘सानो सानो आर्थिक सहयोग पाए मेरो ज्यान बाँच्थ्यो कि ।’ बाँच्नका लागि उपचार गराउन सबै दयालु हृदय भएका मानिससँग सहयोगको अपेक्षा उनले गरेका छन् ।