भद्रपुर/ शिलान्यास भएको झण्डै एक दशकमा निर्माण सम्पन्न भएको मेची पुल आउँदो मङ्सिर २६ गते उदघाटन हुने भएको छ । झापाको भद्रपुर स्थित मेची नदीमा ६ महिना अघि निर्माण सम्पन्न भएको पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
पुल उद्घाटन कार्यक्रम टुङ्गो लागेपछि पुल पश्चिम तथा नेपाल तर्फ पुल जोडने सडक निर्माण ,रङ्रोगन लगायतका काम तीब्र गतिमा भइरहेको छ । पुल जोड्ने सडकमा परेका तीन ओटा सरकारी कार्यालयसहित २२ घर भत्काइसकिएको छ भने पुलदेखि शोभा श्रेष्ठको घरसम्म ३सय मिटर सडक सम्याउने काम धमाधम भइरहेको छ ।
नेपाल-भारत सीमावर्ती नाकासँग जोडिएको मेची पुल भद्रपुर नगरपालिका-५मा पर्छ । मु-आब्जा दिइसकेको उक्त स्थानमा ग्राभेल सडक निर्माण धमाधम भइरहेको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीका प्रमुख विजय कुमार महतोले बताए ।
पहिलो चरणमा ग्राभेल सडक निर्माण गरिने महतोले बताए । पुल उद्घाटन हुने भन्ने मौखिक जानकारी विभागबाट आएकोले लिखित पत्र नआएसम्म मिति भन्न नसकिने उनले बताए । भारत तर्फ रहेको १ सय ५५ मिटर सडकको ग्राभेल काम सम्पन्न भइसकेकोले केही ठाउँमा मर्मत गर्नमात्र बाँकी रहेको उनले जनाए ।
त्यस्तै नेपालतर्फ कै झापा चोकसम्म थप एक हजार ३सय मिटर सडकमा ठेक्का लागिसकेपनि मु-आब्जा विवादका कारण अन्यौल रहेको उनले बताए । सो सडकमा पर्ने जमिनले मु-आब्जा नपाउने उनको भनाइ छ । ठेक्का लागेको क्षेत्रमा अग्रीम सडक भइसकेकोले स्तरवृद्धिको लागि सरकारले मु-आब्जा दिने नियम नरहेको उनले बताए ।
ठेक्का लागेको केही महिना भइसकेकोले सो क्षेत्रका मानिस,जनप्रतिनिधि र सडक विभागसँग छलफल भइरहेको उनले बताए । टुङ्गो नलागेमा ठेक्का रद्ध हुने भएकोले आएको रकमलाइ सदुपयोग गर्नहुन बारम्बार अनुरोध गरिरहेको उनको भनाइ छ ।
पुलको पश्चिम तर्फको भागमा परेका घर जग्गालाइ मु- आब्जा दिइसकेर सडक सम्याउने काम भइरहेको वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्कीले बताए । पुल उद्घाटनको कार्यक्रम तय भइसेको जनाउदै माटो भरिसकेपछि शुक्रबारबाट ग्राभेल लगाउने काम शुरु गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।
पुल जोडने सडकमा मेची भन्सार,वडा प्रहरी कार्यालय र पशु क्वारेनटाइन कार्यालयका आधा भाग सहित २२ घर परेको उनले बताए । सडकको चौडाइ भने १५ मिटर रहने जनाइएको छ ।
०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले ३ वर्षमा पुल निर्माण सम्पन्न हुने गरी शिलान्यास गरे पनि विविध कारणले आठ वर्षमा निर्माण सम्पन्न भएको थियो । कनक सूर्य एण्ड सन्स कम्पनीले ३७ करोड ३६ लाख ५० हजार ठेक्का लिएको थियो ।
६ सय ६० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको उक्त पुलको भारबहन क्षमता ७० टन रहेको प्राविधिकले जनाएका छन् ।
भद्रपुरमा चहलपहल बढ्यो
पुल निमार्णपछि भद्रपुर लगायत दक्षिणी क्षेत्रमा चहलपहल बढेको छ । तीब्ररुपमा सडक निर्माण र पुल उद्घाटन हुने सार्वजानिक भएसँगै सो क्षेत्रका जनता खुसी देखिएका छन् । भारत सहित तेस्रो मुलुकसँग व्यापारीक निकटता कायम गर्न सक्ने सम्भावना हुनेमा उनिहरुले आशा राखेका छन् ।
भारतको बङ्गाल र विहार राज्यसँगै तेस्रो मुलुक बङ्गलादेशलाई नजिक्याउने झापा उद्योग सङ्घका अध्यक्ष टिकाराज ढकाल बताउँछन् । पुल निर्माणसँगै सडक र औद्योगिक क्षेत्र तोकेर राज्यले संरक्षण गरेमा इतिहाँसको भन्दा बढी उद्योग स्थापना हुने ढकालले दाबी गरे ।
मेची पुल जोड्ने सडक निर्माणमा राज्यको भूमिका शून्य रहेकोमा उनले दुःख व्यक्त गरे । यो नाकाबाट आयत निर्यातको चाप बढी हुने भएकोले अब भद्रपुर लगायत दक्षिणी क्षेत्रको मुहार फेरिनेमा उनले अपेक्षा गरेका छन् । पुल नबन्दा यस क्षेत्रको महत्व नै ओझेलमा परेको केही उद्योगीको बुझाइ छ ।
तत्कालिन सरकारले २००८ सालमा १६ वटा नगरपञ्चायत घोषणा गरेसँगै यो स्थानमा पुल निमार्णको चर्चा सुरु भएको जानकारहरु बताउँछन् ।
मेची पुल निर्माण नभएकै कारण २००८ सालमा स्थापित भद्रपुर नगरपालिका क्षेत्रमा भौतिक संरचना भएपनि अद्यौगिक तथा व्यापारिक थलोको रुपमा बिकास हुन सकेन, कुनै बेला औद्योगिक शहरको रुपमा स्थापित भद्रपुर शहर पुल नबन्दा उद्योग पलायनसँगै सुनसान गाउँ जस्तै बनेको उद्योगीहरुको अनुभव छ ।
पुल सञ्चालनमा आइसकेपछि आन्तरिक विमानस्थलले यो नगरपालिकाभित्र यात्रुको चहलपलह बढेसँगै मेची अञ्चल, भारतको पश्चिम बङ्गाल, दाजिलिङ्ग, सिक्कम र भुटान सम्म पनि आवतआवत गर्न यो क्षेत्रको प्रयोग हुने चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताए ।
पुल नवनेका कारण काठमाडौँ र भारत बाघडुग्राबाट सिधा हवाइ यातायात भइरहेपनि अब भद्रपुर विमानस्थलमा यात्रुको चाप थप वढ्ने चुडालले दाबी गरेका छन् ।
































