पाँचथर/ फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधि उपचार खर्च स्वरुप नगद पाँच हजार रुपैंयाँ प्रदान गर्न थालेको छ ।
जीवनको उत्तराद्र्धमा स्थानीय तहबाट औषधि उपचार खर्च पाएपछि जेष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् । औषधि उपचार खर्च नगद पाँच हजार प्राप्त गरेपछि फिदिम–१, का ८६ वर्षिय भीमप्रसाद भट्टराईले हर्षसँगै आश्चर्य प्रकट गरे ।
उनले भने– ‘यसअघि यस्तो सुबिधा पाइएको थिएन, पैशा पाएपछि म त दंग परे ।’ जनप्रतिनिधि र नगरपालिकाका कर्मचारी घरैमा आएर औषधी उपचार खर्च भन्दै नगद पाँच हजार दिएपछि फिदिम–४, का ८६ वर्षिय कुल बहादुर खत्री पनि खुसीले गदगत भए ।
शारीरिक र मानशिक रुपमा कमजोर अवस्थामा पुगेका जेष्ठ नागरिकहरुलाई औषधी उपचारमा सहयोग पुगोस भन्ने उद्येश्यले यो कार्यक्रम लागु गरिएको फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले बताए ।
उनले भने– ‘हालसम्ममा ७० जनाभन्दा बढी जेष्ठ नागरिकलाई औषधी उपचार खर्च वितरण गरिसकेका छौं, यो रकम नगरको १४ वटा वडाका ८० वर्ष पार गरेका सबै जेष्ठ नागरिकलाई वितरण गरिन्छ ।’ नगरपालिकाले जेष्ठ नागरिकको औषधीउपचार खर्च भनेर पाँच लाख रुपैंयाँ बिनियोजन गरेको थियो ।
यसबाट नयाँ पुस्ताको लागि प्रेरणाको स्रोतको रुपमा रहेका जेष्ठ नागरिकको सम्मान समेत भएको फिदिम नगरपालिकाका उपमेयर उर्मिला प्रधान श्रेष्ठले बताइन् ।
परोपकारी कार्यक्रम भएकाले यसलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने नगरपालिकाका सूचना अधिकारी तथा प्रशासकिय अधिकृत डम्बर बहादुर आङदेम्बेले बताए ।
































