इनरूवा/सुनसरीको दक्षिणवर्ति गाउँपालिका बर्जुमा निशुल्क माटो परिक्षण शिविर सञ्चालनमा ल्याइएको छ । तीन दिने शिविरलाई गाउँपालिकाको कार्यालय र माटो तथा मल परिक्षण प्रयोगशाला रामधुनीले संचालनमा ल्याएको हो । नेरा माबिमा संचालित शिविरमा उल्लेख्य संख्यामा दक्षिणी भेगका कृषकहरुले निःशुल्क माटो परिक्षण गराइरहेका छन् ।
यसैबिच विश्व माटो दिवसको सन्दर्भ पारेर आयोजित जनचेतना मूलक कार्यक्रममा माटो विज्ञ नाथुप्रसाद चौधरीले उपस्थिती किसानका जिज्ञासा समाधान गर्नुकासाथै माटोको उर्वरा शक्ति बढाउन सन्तुलित मलखादमा जोड दिन सुझाव दिएका छन् ।
चौधरीले माटोको उर्वरा बढाउन वर्ष चक्रमा एक पटक अनिवार्य रुपमा कोशेबाली र हरियो मलबाली लगाउनु पर्नेमा जोड दिए ।
वडा नम्बर ५ का अध्यक्ष किशोर कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले गाउँपालिकाको कार्यालय कृषक लक्षित कार्यक्रममा केन्द्रीत रहेको बताउँदै माटोको उर्वरा शक्ति बढाउँदै उत्पादनमा वृद्धि गराउन स्थानीय तवरमा विविध जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइएको बताए ।
कार्यक्रमलाई कृषकका घरआँगन सम्म पुर्याउने उद्येश्यसाथ गाउँपालिकाले ठोस रणनीति साथ नीति अवलम्बन गरेको सन्तोष बञ्जाराले जानकारी दिए ।
































