भद्रपुर /भद्रपुर गौशालामा दिव्यश्री गणेश (कृष्ण भगवान) को मूर्ति प्राण प्रतिष्ठा महोत्सव सम्पन्न गरिएको छ ।

गौशालाको आयोजनामा धार्मिक विधिअनुसार सञ्चालन गरिएको तीन दिने महोत्सव वुधबार सम्पन्न भएको हो । गौशाला व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापाँगाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद् वसन्तकुमार वानियाँलगायतको उपस्थिति थियो ।

गौशालामा सहयोग गर्ने नेपाल तथा भारतका दातालाई एकसय ३५ जनालाई सम्मानित गरियो । गौशाला निर्माण गर्ने उद्देश्य लिई भद्रपुरका दिवङ्गत भवानीशङ्कर मित्रुकाले २५ बिघा, मुक्तिध्वज जोशीले ३ बिघा र जनार्दन शर्माले साढे तीन कठ्ठा निःशुल्क दिएका थिए भने ८ कठ्ठा बिक्री गरेका थिए ।

हाल साढे ११ कठ्ठामा बिक्रम सम्वत २००९ सालबाट गौशाला सञ्चालनमा आएको छ ।

दिल्ली र बृन्दावनबाट १२ थान गाई निःशुल्क ल्याइएको छ भने दुई नन्दी र वाछावाछी गरी ६० थान गाई गौशालामा रहेका छन् । भगवानको मूर्तिसहित पुनः निर्माणमा चन्दासङ्कलनबाट ८७ लाख ३६ हजार ६ सय पन्ध्र रुपैयाँ रहेको छ भने खर्च कटाई ६ लाख १५ हजार २ सय ९१ रुपैयाँ नगद मौज्दात रहेको गौशाला अध्यक्ष चापागाईले बताए ।