यासोक/कुम्मायक गाउँपालिकामा समुदाय साझेदारी समितिको पहिलो बैठकले पाँच वटा निर्णय सार्वजनिक गरेको छ ।

गाउँपालिकाको कार्यालयमा शनिबार बसेको बैठकले पाँच वटा निर्णय सार्वजनिक गरेको हो । गाउँपालिका आगलागी जोखिमक्षेत्रमा पर्ने भएकाले सामुदायिक वनमा अग्निरेखा लगाउन सबै वडा समितिलाई निर्देशन दिने, विपद् न्यूनीकरण गर्न जनचेता अभिवृद्धि गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बजार प्रवेश गर्ने सवारी साधनलाई मुख्य सडक प्रयोग गराउन र बजार क्षेत्रमा सवारी साधन चलाउने चालकले गति कम गर्ने तथा सवारी नियम पालना गरेको या नगरेको विषयलाई कडाइका साथ लागू गर्ने निर्णय गरिएको छ ।

बजारक्षेत्रमा सवारी आवागमनलाई असर पर्ने गरी राखिएका घर निर्माणको सामग्री, ग्यारेज र फोहोर मैलालाई व्यवस्थित गर्न पहल गर्ने निर्णय गरेको छ । समितिले सवारी साधनलाई व्यवस्थित गर्न जिल्ला प्रहरी कार्यालय पाँचथर समक्ष ट्राफिक प्रहरीको दरबन्दी माग गर्ने भएको छ ।

यस अघि जिल्ला प्रहरी कार्यालयले आवश्यकता महसुस गरी मिक्लाजुङ गाउँपालिको रवि र कुम्मायकको यासोक बजारमा ट्राफिक प्रहरी काजमा खटाएको थियो । तर यासोकबाट प्रहरी फित्र्ता बोलाएपछि सवारी नियमको उल्लङ्घनको समस्या बढेको प्रति समितिले चासो दिएको हो ।

कार्यक्रम समुदाय प्रहरी साझेदारी समिति संयोजक तथा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।