यासोक/पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको प्राविधिकसहितको एक टोलिले निरीक्षण गरेको छ ।

योजनाको प्रतिवेदन तयार गर्न खानेपानी विभागले परामर्श दात्रीसहितको टोली निरिक्षणमा पठाएको थियो । २०७३ सालदेखि निर्माणको काम गर्दै आएको प्रेरा-स्वामी नारायण जेभीले हालसम्म गरेका प्रगति र सुधार गर्नुपर्ने पक्षको विषयमा टोलीले प्रतिवेदन तयार गरी केन्द्रमा पठाउँने छ ।

प्राविधिकसहितको टोलीले तयार पारेको प्रतिवेदनको आधारमा विभागले योजनाको काम अघिबढाउँने टोलीका इन्जिनियर ठाकुर पन्डितले बताए ।

योजनाको आर भिटि, विद्युत, पाइप बिस्तारको संरचनालाई टोलीले निरीक्षण गरेको थियो । निर्माण स्थलमा पानी संकलन गर्ने ११ वटा आरभिटिहरु छन् । प्रतेक आरभिटिमा ट्रान्सर्फमर, र पम्पजडान गर्नुपर्ने हुन्छ । विभागबाट खटिएको टोलीका सुझाव र प्राविधिक स्टमेटको आधारमा निर्माण कम्पनीले आयोजनाको काम अधिबढाउँने पन्डितले जनाए ।

योजनामा देखिएका कमीकम्जोरी औंल्याउँदै, सल्लाह र सुझाव दिन केन्द्रले खटाएको छ । योजनामा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने संरचनाको प्रतिवेदनका आधारमा निर्माण कम्पनीले काम गर्ने उनको भनाई छ ।

कुम्मायकका ३ हजार ४३ घरधुरीलाई लक्षित गर्दै २०७३ सालदेखि योजनाको सुरु भएको थियो । निर्माण कम्पनीले २०७५ सालसम्म आयोजना सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । तर निर्माण कम्पनीले पंम्प र टूान्समिटर खरिद र जडान गर्न ६ देखि ७ महिनासम्म लाग्ने जनाउँदै आएको छ ।

सरकारी संरचना र कर्मचारीको व्यवस्थापन समयमै नहुदा समस्या भएको निर्माण स्थलमा भेटिएका निर्माण व्यवसाही सन्तोष बस्नेतले जनाए । उनिभन्छन् विभागले परामर्श दातासहितको प्राविधिक खटाएको छ । तर विभागमा अड्कीएको पंम्प र ट्रान्सफर्मरको खरिद प्रकृयाको स्वीकृति नदिदा समस्या भएको हो, उनले भने ।

आयोजनाको काम ढिलाइ हुनुमा निर्माण कम्पनी पनि निर्दोस भने पक्कै होइन् उनले थपे, बीच समयमा आएर डेढ महिनासम्म मुहान बिवाद पनि यसको मुल कारण हो, अहिलेको सरकारी संरचनाले पनि हामीलाई असर पुर्याएको छ । बस्नेतले भने ।

निर्माण कम्पनीले निधारित मिति अगाबै योजना सम्पन्न गर्नेगरी काम थालेको थियो । तर सरकारी ढिलासुस्तीका कारण योजनाले गति नलिदा आगामी २०७६ सालमा मात्रै योजना सम्पन्न हुने निर्माण कम्पनीले बताउँदै आएको छ ।

यता डिविजन कार्यालय पाँचथर प्रदेश मातहतमा गाभिएपछि पहिलो पटक निर्माण स्थलमा पुगेका डिविजन प्रमुख सुरतलाल चौधरीले केन्द्रले आफ्नो साखा कार्यालय स्थापना गर्नको लागि प्रकृया अघिबढाएकोले धेरै समय नलाग्ने बताए ।

उनले आफ्नो कार्यालय प्रदेश मातहतमा गएपनि सुख्खाक्षेत्रको आयोजनामा कार्यालयको पूर्ण सहयोग रहने दाबी गरे । पूर्ण रुपमा बिभागको संरचना तय नहुदासम्म कार्यालयले पनि सहयोग गर्छ । केन्द्रको कार्यालय स्थापना भएपछि पनि आवश्यक परेको खण्डमा सहयोग निरन्तर हुन्छ चौधरीले भने ।

केन्द्र सरकारले जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकाको तमोर लिफ्ट खानेपानी योजनाको जिम्मा लिएसँगै स्थानीयमा अन्योल बढेको छ ।