यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका–३ को नवनिर्मित स्वास्थ्य चौकी भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
वडाको नवनिर्मित भवनको उद्घाटन कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले गरेका छन् । भवन निर्माणका लागि निशुःक जग्गादान गर्ने दातालाई प्रशंसा–पत्र प्रदान गर्दै चेम्जोङले आगामी दिनमा पनि निरन्तर सहयोगको आग्रह गरे ।
उनले नागरिको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउन समुदायको सहयोगको प्रशंसासमेत गरे । भवन निर्माणका लागि स्थानीय कुलप्रसाद चम्लागार्इं, कलिमाया चम्लागाईं, देवीमाया चम्लागाईं र अम्बिका चम्लागाईले ८ लाख बराबरको १३ रोपनी ८ आना जग्गा दान गरेका थिए । उनीहरूलाई वडाले सम्मान गरेको छ ।
कुम्मायक गाउँपालिकाको २० लाख र स्थानीय जनश्रमदान ४ लाख गरी २४ लाख रुपैयाँको लागतमा ६ कोठे भवन निर्माण भएको कुम्मायक–३ का वडा अध्यक्ष रामप्रसाद गजुरेलले बताए ।
स्थानीयले दान गरेको जग्गामा वडाको खेलमैदान, स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । वडा कार्यालयको भवन निर्माण पनि सोही स्थानमै हुने गजुरेलले बताए । कार्यक्रममा वडाका ७६ जना ज्येष्ठ नागरिक मध्ये ११ जनालाई सम्मान गरिएको छ ।
अन्य ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्ने वडा कार्यालयले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराई, कुम्मायक–४ का वडाध्यक्ष पूर्णकुमार खड्का, स्वास्थ्य चौकी यासोक प्रमुख केदार खड्का, इलाका प्रहरी कार्यालय यासोक प्रमुख भरतकुमार थापालगायत स्थानीयको सहभागिता रहेको थियो ।
































