उदयपुर/ उदयपुरको सदरमुकाम गाईघाटमा १० दिने घरेलु औद्योगिक महोत्सव आगामी बिहीबारदेखि लाग्ने भएको छ । ‘मिहिनेत सिर्जना उत्पादन र वस्तु मेरै नेपालको, उद्योग गरौँ उद्यमी बनौँ, उठाऔैँ नेपाल’ भन्ने मूल नाराका साथ घरेलु औद्योगिक महोत्सव–२०७५ मङ्सिर २९ गतेसम्म लाग्ने भएको हो ।
महोत्सवले प्रदेश १ का सबै उद्यमीलाई एकै थलोमा भेला गरी बजार प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, उदयपुरले आयोजना गर्ने भएको महासङ्घका अध्यक्ष मधुकर थापाले बताए ।
गत वर्षदेखि वार्षिक रूपमा थालिएको महोत्सवलाई निरन्तरता दिँदै शनिबार दोस्रो महोत्सवका लागि पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको थियो । महोत्सवको प्रमुख आकर्षकका रूपमा उद्यमीको स्थानीय उत्पादन रहने जनाइएको छ ।
स्थानीय सरकार समृद्ध बन्ने एउटा खम्बाका रूपमा उद्यम क्षेत्रलाई लिँदै सबै तहका सरकारलाई औद्योगिकमैत्री तथा लगानीमैत्री बनाउनमा महोत्सवको भूमिका रहने थापाले बताए ।
सङ्घीय संरचनापछिको स्थानीय, प्रदेश र सङ्घ सरकारले साना उद्योगको विकास र प्रवद्र्धनका लागि थुप्रै ऐन कानून सुधार गर्नु पर्ने जरुरी रहेको थापाले बताए । महोत्सवलाई भव्यरूपमा सफल पार्न सबै पक्षको महत्वपूर्ण भूमिका हुने भएकाले जनप्रतिनिधि, उद्योगी, व्यापारी, राजनीतिक दल, नागरिक समाज, शिक्षक, कर्मचारी, बुद्धिजीवि, विद्यार्थी, पत्रकारलगायत सबै पक्षको सहयोगको खाँचो रहेको थापाले बताए ।
महोत्सवको अध्ययन तथा अवलोकन गर्न सहभागिताको समेत आह्वान गरिएको छ ।
































