भद्रपुर/ झापाजस्तो सुगम जिल्लामै बिरामीलाई बोकेर लानुपर्छ भन्दा अचम्म लाग्ला ? हल्दीबारी–३ तुलसीबारीका १४ घरपरिवार वर्षायामका बेला यही अचम्मबाट गुज्रिने गरेका छन् ।
डाँडाबजारदेखि राधाकृष्ण मन्दिरसम्मको करिब २ किलोमिटर सडक गहिरिएका कारण सवारी नगुड्दा बोकेर लानुपर्ने बाध्यता छ । जमिनभन्दा सडक होचो भएपछि वर्षायामको डुबान हुँदा बिरामीहरूले मात्रै होइन, गाउँले नै सास्ती खेप्ने गरेका छन् ।
सडकको समस्यामात्रै होइन, यस क्षेत्रका बासिन्दा वर्षौदेखि टुकीको भरमा बस्न बाध्य छन् । स्थानीय ६७ वर्षीय डम्बरूवल्लभ न्यौपानेले हिउँदमा अवस्था सामान्य भए पनि वर्षायाममा समस्या हुने गरेको बताए । वर्षायाममा जाग्राम बस्नु परेको उनी सुनाउँछन् ।
बिजुली नहुँदा सिंचाइ गर्न पाउँदैनन् । यहाँका अधिकांश खेती किसानीको भरमा रहेको ईश्वरा तिवारीले बताइन् । बिजुलीको पोल गाडेको ६ महिना बित्न लाग्दा पनि हालसम्म आउने छाँटकाट नभएको विष्णु भण्डारीले गुनासो गरिन् ।
बिजुली नआउँदा केही घरले आफैंले तीन सय मिटर टाढाबाट तारबाट बिजुली ल्याएर बालेका छन् ।
केहीले सोलार जडान गरेका छन् । बत्ती नभएकाले नानीहरूको पढाइमा समस्या हुने गरेको सुमित्रादेवी महतोले बताइन् । गत आर्थिक वर्षको बजेटबाट गाउँपालिकाको खर्चमा पोल गाड्ने काम सम्पन्न भइसकेको छ । तर, तार जडानमा विद्युत प्राधिकरणले नै काम गर्नुपर्ने भन्दै गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी तर्किन्छन् ।
साविक जलथल र हल्दीबारी गाविसमा विद्युत प्राधिकारणबाट २७ लाख रुपैयाँ बजेट विनियोजन भएकाले आवश्यक्तालाई हेरेर प्राविधिकले तार टाँघ्ने उपाध्यक्ष गिरी बताउँछन् । बाटोको विषयमा स्थानीयले स्तरवृद्धि गरेर ल्याएमा ग्राभेल हुने नत्र केही गर्न नसकिने भन्दै पन्छिए ।
































