वडाध्यक्ष सुरेश श्रेष्ठले वडा कार्यालयको अनुमतिबिना काम शुरु गरेको बताउँदै काम रोक्न आदेश दिएको बताए । वराहक्षेत्रको चतरास्थित सप्तकोशी नदीमा सञ्चालन गर्ने भनिएको वराहक्षेत्र मरिन एण्ड रिसोर्ट्स प्रालिको बन्न लागेको यात्रु बिसौनी वडा कार्यालय तथा कम्पनी बीच विवादले काम प्रभावित भएको वराहक्षेत्र मरिन प्रमुख नवीन पौडेलले बताए ।
पोर्ट निर्माणका लागि प्रारम्भिक वातावरणीय अध्ययन गरी पर्यटन मन्त्रालयसूग अनुमति लिएको पौडेलको भनाइ छ । उनले वराहक्षेत्र नगरपालिकासूग अनुमति लिएर कार्य शुरु गरेको जानकारी दिए । ‘यो नगरपालिका र वडाको विषय हो ।’ उनले भने ।
वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ मा रहेको सप्तकोशी नदीको कोशी पुल नजिक नदी किनारमा वडा कार्यालयलाई जानकारी नगराई खन्न थालिएकाले स्थानीयको गुनासोका आधारमा काम रोकिएको वडाध्यक्ष सुरेश श्रेष्ठले बताए ।
वडामा पोर्ट बनाउने सम्बन्धमा वराहक्षेत्र नगरपालिकाले समेत वडा नम्बर १ लाई कुनै जानकारी तथा समन्वय नगरेको आरोप अध्यक्ष श्रेष्ठले लगाए । ‘वडा कार्यालयलाई समेत थाहा नदिई चतराघाट नदी किनारमा १ महिना अघिदेखि नै सडकदेखि पोर्टसम्म जाने भर्याङ र मोटरसाइकल पार्किङ बनिरहेको थाहा पाएर स्थानीयले जानकारी दिएपछि मङ्सिर १० गते गएर काम रोकेका थियौं ।’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘हामीले यस अघि नै वराहक्षेत्र मरिन प्रमुख नवीन पौडेललाई सम्पूर्ण डकुमेण्ट लिएर वडा कार्यलयमा आउन भनेका थियौं तर अझैसम्म कम्पनी सम्पर्कमा नआएको श्रेष्ठले बताए ।
स्थानीय लक्ष्मी मालाकारले सडकको नियमविपरीत सडकको दुवै किनारको १५ मिटर क्षेत्रमा कुनै पनि भौतिक संरचना बनाउन नपाइने नियम मिचेर कम्पनीले मोटरसाइकल पार्किङ बनाइएकामा आपत्ति जनाए । ‘हामी विकास विरोधी होइनौँ तर नियमलाई पाखा लगाएर बनाउनुमा हाम्रो असहमति छ ।’ उनले भने ।
वराहक्षेत्र नरगपालिका प्रमुख निलम खनालले वडालाई नै कब्जा गरेर विकासमा वडाध्यक्षले अवरोध पुर्याउन नहुने बताए । धार्मिक पर्यटन प्रवद्र्धनलाई सरकारले मुआब्जा दिइसकेको उनले बताए । नगर प्रमुख खनालले उक्त स्थानबाट ट्वाइलेटमात्र हटाएको बताए ।
‘कम्पनीले माथि सरकारबाट यसको स्वीकृति लिएर आएको छ , फेरि वडा कार्यालयले पोर्ट निर्माणका लागि स्वीकृति पत्रमा हस्ताक्षर समेत गरेको छ, आफ्नो मुढे बलले चलेर मात्र हुन्छ र ? नगर प्रमुख खनालले भने ।
वराहक्षेत्र मरिनले वराहक्षेत्र मन्दिर, चतराघाटको कोशी पुल र राजाबास गरी ३ स्थानमा पोर्ट निर्माण गर्न लागेको छ ।
थप जेटबोट सञ्चालन हुँदै
वराहक्षेत्रको चतरास्थित सप्तकोशी नदीमा स्थानीय सरकारको प्रोत्साहनमा नयाँ निजी कम्पनीले अत्याधुनिक जेटबोट र रिसोर्ट सञ्चालन गर्ने भएको छ । नगरको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले निजी कम्पनीलाई प्रोत्साहन गरिएको नगर प्रमुख निलम खनालले जानकारी दिए ।
वराहक्षेत्र नगरपालिकाले निजी संस्था, व्यक्ति वा व्यवसायिक फर्मलाई वराहक्षेत्रमा उद्योग, पर्यटनमा लगानी गर्न आह्वान र प्रोत्साहन गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । त्यसैको कदम स्वरूप नगरले पर्यटन क्षेत्रको विकासका लागि नयाँ उद्यमीलाई प्रोत्साहन गरेको नगर प्रमुख खनालले बताए ।
कम्पनीले पर्यटन मन्त्रालयको स्वीकृति र नगरको सहमतिमा प्रोजेक्ट शुरू गर्न लागेको हो । हाल वराहक्षेत्र नगरपालिका सुनसरी र बेलका नगरपालिका उदयपुरको सीमा भएर बग्ने सप्तकोशी नदीमा दुई वटा जेटबोट सञ्चालनमा छन् ।
जेटबोट सुनसरी, उदयपुर, भोजपुर, धनकुटा जिल्लाका सीमासँग प्रत्यक्ष जोडिँदा त्यहाँका स्थानीय सरकारसँग अनुमति लिनु पर्ने, कर तिर्नु पर्ने लगायतका सहमति सञ्चालकले लिनु पर्ने हुन्छ । जेटबोट सञ्चालनमा आएपछि स्थानीय युवाले होटल तथा रिसोर्ट खोल्ने क्रम बढेको छ । थप जेटबोट सञ्चालनमा आएपछि आफ्नो व्यापार-व्यवसाय बढ्ने भएकाले नयाँ निर्माणको विरोध गर्न नहुने स्थानीय मधु राईले बताइन् ।
































