यासोक/केन्द्रको अधिकार स्थानीय तहमा आएको छ । लाखौं र करोडौंको योजनाको काम गाउँघरमै हुन थालेको छ । बढ्दै गएको विकास निर्माणले स्थानीयतहको केन्द्रमा सेवाग्राहीको चहल-पहल र व्यपार–व्यवसाय राम्रो हुन थालेको छ ।

स्थानीयतहको केन्द्रमा आर्थिक गतिविधि वृद्धि हुन थालेपछि केन्द्रमा नागरिको आर्कषण पनि बढ्दै गएको छ । पाँचथरमा १ नगरपालिकासहित ७ स्थानीय तह छन् । सबै स्थानीय तहमा विषयगत कार्यालयले सेवा शुरु गर्दा क्रमशः स्थानीय तहमा चहलपहल बढ्दै गएको हो ।

जिल्लाको कुम्मायक गाउँपालिकालाई एउटा गतिलो उदाहरणको रूपमा लिन सकिन्छ । गाउँपालिकाको केन्द्रमा खानेपानीको अभाव छ । तर स्थानीय तह नहुँदाको अवस्था र अहिलेको अवस्थामा जग्गाको खरिद बिक्री दोब्बरले बढेको कुम्मायक–१ का अध्यक्ष देवेन्द्रकुमार लावतीले जनाए ।

गाउँ–गाउँबाट स्थानीयले केन्द्रको महङ्गो जग्गा खरिद गर्ने गरेका छन् । कतिपयले वैदेशिक रोजगारीबाट कमाएको रेमिटेन्सले पनि जग्गा खरिद गर्ने गरेको लावतीले सुनाए । ५ वर्ष पहिले ४ आना जग्गालाई ७ लाखदेखि ९ लाखसम्म पथ्र्यो, तर अहिले ४ आनाकै जग्गालाई १८ लाखदेखि २५ लाखसम्ममा खरिद बिक्री हुने गरेको छ ।

यो पहिलेको भन्दा दोब्बर भन्दा बढी हो ।’ लावतीले भने । कुम्मायकमा वैदेशिक रोजगारीमा गएका युवाले धेरै जसो केन्द्रको जग्गा खरिद गर्ने गरेका छन् । जग्गाको खरिद बिक्रीका साथै आधुनिक डिजाइनका घर निर्माणको कामले समेत तिव्रता पाएको छ ।

बजारको केन्द्रमा खाली जग्गा सकिएपछि बजारको आसपासमा जग्गाको कारोबार शुरु भएको छ । बजारीकरण नभएको स्थानमा पनि सडक सञ्जालमा जोडेर जग्गाको खरिद बिक्री हुन थालेको हो ।  कुम्मायकमा केन्द्रको मोहले दिनप्रतिदिन बजारीकरण बढ्दै गएको छ ।

बजारीकरणलाई व्यवस्थित गर्न गाउँपालिकाले सडकको मापदण्ड र अनिवार्य नक्सापासको अवधारणा अघि बढाएको छ । तत्काललाई खानेपानीको समस्या देखा परे पनि तमोरलिफ्ट खानेपानीको प्रतिक्षाले गर्दा भविष्यमा जग्गाको मूल्याङ्कन बढ्ने भन्दै कतिपयले व्यवसायिक रूपमै जग्गा खरिद बिक्रीको पेसा थालेका छन् ।

जग्गा खरिद बिक्रीबाटै स्थानीयले लाखौं आम्दानी गर्दै आएका छन् । स्थानीय ९ जना युवाले ९० लाखमा साढे ९ रोपनी जग्गा खरिद गरे । उनीहरूले खरिद गरेको जग्गामा सडक निर्माण गरी भिट्टाको रूप दिएका दिए । प्रति रोपनी १० लाखमा खरिद गरेको जग्गाको मूल्याङ्कन दोब्बर भएको तीनै मध्येका एक युवा मनोज बोहोराले बताए ।

‘बजारमा सडक र विद्युत छ । समस्याका रूपमा खानेपानीको अभाव पनि उत्तिकै छ । तर तमोरको पानी आउने आशामा जग्गा खरिद गरेका हौं अहिले जग्गाको मूल्याङ्कन राम्रो छ ।’ बोहोराले भने ।

जिल्लाका अन्य स्थानीय तहमा पनि केन्द्रप्रति स्थानीयको आकर्षण उत्तिकै छ । स्थानीय तहको केन्द्र तुम्बेवा, मिक्लाजुङ र फाल्गुनन्दलगायतका केन्द्रमा स्थानीयको आकर्षण बढेको देखिन्छ । अहिले गाउँपालिकाको केन्द्रमा जग्गाको कारोबार वृद्धि हुँदा बजारीकरण बढेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जनाए ।

गाउँपालिकाको केन्द्र रवि बजारमा जग्गाको मूल्याङ्कन आकाशिएको छ । गाउँपालिकाको केन्द्र, राँके, रवि–भेडेटार सडक कालोपत्रे हुने भएपछि जग्गा किनबेच बढेको हो,’ माखिमले भने– ‘गाउँका सडक केन्द्रमा जोडिएसँगै व्यपार व्यवसाय बढेको छ ।’ मिक्लाजुङ–४ का वडा अध्यक्ष रामकुमार राईले केन्द्रमा व्यापार–व्यवसायले बैङ्किङ कारोबार पनि बढाएको बताए ।

स्थानीयले घर जग्गा धितो राखेर व्यापार–व्यवसाय गर्दै आएको राईले बताए ।