धरान/वातवारण संरक्षणमा ध्यान दिन धरान उमपहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

वातावरण तथा पर्यटन विकास केन्द्र (सेड नेपाल) ले आइतबार धरान उपमहानगरलाई वातावरण संरक्षणमा ध्यान दिनका लागि तीन बुदे ज्ञापन पत्र बुझाएको छ । धरान उपमहानगरले चारकोशे झाडीमा प्रयोग गर्दै आएको डम्पिङ साइटमा लगाएको आगोको कारण नगर प्रदुर्षणसगै वनजङ्गलका जीवजन्तु र वनस्पतिमा नराम्रो असर पुगेको सेड नेपालले जनाएको छ । त्यसलाई तत्काल रोक्न भन्दै ज्ञापन पत्र बुझाइएको हो ।

धरानको पानीको श्रोत सर्दु जलाधार क्षेत्रलाई दीर्घकालीन संरक्षणका लागि धरान एकीकृत जलाधार क्षेत्र संरक्षण समिति गठन गरी कार्य अगाडि बढाउन माग गरेको छ । त्यस्तै धरानका जलाधार क्षेत्रका आसपास क्षेत्रमा वडाले सडक निर्माणका नाममा जथाभावी डोजर लगाई विरुवासहि जलाधारको कुवा तथा जीवजन्तु नासिने खतरा बढेकाले तत्काल रोक्न माग गरेको छ ।

उक्त स्थानमा भौतिक पूर्वाधार निर्माण गर्दा वातवरणीय प्रभाव मूल्याङ्कन गरी काम गर्नका लागि नगरलाई सुझाव दिएको छ ।

सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठले उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीलाई ज्ञापन पत्र बुझाएका थिए । सेड नेपालले २०७५ बैसाख १५ गते मेयर तारा सुब्बालाई पनि यही माग राखेर ज्ञापन पत्र बुझाएको थियो । हालसम्म पनि नगरले ठोस कदम नचालेकाले तत्काल सुधारका लागि पहल गर्न माग गरेको छ ।