सिरहा/सिरहाको भूमि सुधार तथा मालपोत कार्यालयमा कर्मचारीको चरम अभावमा अधिकांश फाँट बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
कर्मचारी अभावका कारण दैनिक कामकाजसमेत प्रभावित बनेको छ भने महत्वपूर्ण फाँटहरू बन्द छन् । एक कर्मचारीले २–३ वटा फाँटसम्म हेर्नुपर्ने बाध्यता छ । भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा ३८ जना कर्मचारीको दरबन्दी भए पनि हाल १७ जना कर्मचारी मात्र कार्यरत रहेको कार्यालयका नायब सुब्बा तथा सूचना अधिकारी सुधिर यादवले बताए ।
मोठ तथा मुद्दा फाँटमा आवश्यक कर्मचारी नहुँदा विगत २ सातादेखि बन्द गरिएको छ ।
उनी भन्छन, ‘कार्यालय प्रमुख र आवश्यकतानुसारको कर्मचारी नहुँदा काम कारबाहीमा समस्या उत्पन्न भएको छ । यसबारे हामीले पटक–पटक विभाग र मन्त्रालयमा मौखिक र लिखित जानकारी गराउँदा पनि आश्वासनबाहेक केही पाइएको छैन ।’ कार्यालय प्रयाप्त जनशक्ति नहुुुँदा सेवाग्राही सास्ती बेहोर्न बाध्य छन् । विगत दुईसातादेखि कार्यालयमा धाएका सेवाग्राही बालेश्वर साहले भने ‘अझ कति दिन धाउनुपर्ने हो थाहा छैन ।’
लामो समयसम्म कर्मचारी अभावमा सेवा ठप्प हुँदासमेत सम्बन्धित निकायले चासो नदिँदा सेवाग्राही निराश बनेका छन् । यस विषयमा कार्यालय प्रमूख रामनरेश राम सँग बुझ्न खोज्दा फोन उठेन ।
































